काठमाडौं । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आइतबार काठमाडौंमा हुने भएको छ। जापानिज भाषा अध्ययन तथा परामर्श सेवा प्रदान गर्दै आएको जापानिज एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–स्थित बालुवाखानी कपन स्पोर्ट्स सेन्टरमा प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रतियोगितामा १० टोलीले सहभागिता जनाउनेछन्। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
आयोजकका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेशनल कन्सल्टेन्सी, शिकाता एजुकेशनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्रालि रहेका छन्।
समूह ‘बी’ मा इकिगाई एजुकेशनल कन्सल्टेन्सी, तिरुपाती एचआर सोलुसन प्रालि, कोउम्योउ इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्रालि र न्यु होराइजन माइग्रेसन एन्ड एजुकेसन प्रालि रहेका छन्।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। लिग चरणका खेल १४ मिनेटका हुनेछन् भने सेमिफाइनल र फाइनल १५ मिनेटका खेलाइने आयोजकले जनाएको छ।
उपविजेताले ७५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिता फिफा रेफ्री माया लामाले सञ्चालन गर्नेछिन्। उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रत्येक टोलीबाट विद्यार्थीका साथै गुरु र सञ्चालकसमेत अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। यसबाट विद्यार्थीमा अनुशासन विकास गर्नुका साथै मेहनती र अनुशासित युवा जनशक्ति निर्माणको सन्देश दिन खोजिएको आयोजक जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताए।
उनका अनुसार अध्ययनसँगै खेलकुद र अनुशासनलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।


