लुम्बिनी: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, प्रभावकारी कार्यान्वयन, विकास, सुशासन, र समाधानमुखी पहलमा केन्द्रित रहेको बताउनुभएको छ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आइतबार भएको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकका समस्याको समाधानका लागि अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो कदम मुलुकका समस्याको गतिरोध तोड्न गरिएको सशक्त पहल हो, जसका सकारात्मक नतिजा क्रमशः देखिन थालेका छन्।”
अर्थमन्त्री पौडेलले सञ्चारकर्मीलाई अध्यादेशका फरक पक्षबारे अध्ययन र छलफल गरी नागरिकमा सत्य सूचना प्रवाह गर्न आग्रह गर्नुभयो।
उहाँका अनुसार सरकारको कामलाई प्रमुख गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सकारात्मक रूपमा लिएको छ। “अहिले सरकार ढल्छ भन्ने चर्चा कम सुनिन थालेको छ। जसको सरकार ढाल्ने शक्ति छैन, त्यसले ढल्छ भन्दै हिँड्नु हास्यास्पद हो,” उहाँले थप्नुभयो।
अर्थमन्त्री पौडेलले सरकार अहिले सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै भन्नुभयो, “हामी मुलुकको ओरालो यात्रा रोक्दै गति बढाउने अवस्थामा छौँ। देश बन्छ भन्ने विश्वास जनतामा जगाउन सक्छौँ।”
सामाजिक सञ्जाल नियमन विधेयकको आलोचनाबारे बोल्दै अर्थमन्त्रीले सरकार वाक तथा अभिव्यक्ति स्वतन्त्रताको विरोधी नभएको स्पष्ट पार्नुभयो। “नियमन गर्नु र स्वतन्त्रतामाथि अंकुश लगाउनु फरक कुरा हुन्। अपराध गर्ने दण्डित हुनुपर्छ भने राम्रो काम गर्ने पुरस्कृत हुनु पर्दछ,” उहाँले बताउनुभयो।
उहाँका अनुसार विधेयकले संविधानले प्रदत्त अधिकारलाई बन्देज लगाउने होइन, समाजको एकता र सद्भाव खल्बल्याउने गतिविधिहरूलाई व्यवस्थित गर्न खोजिएको हो।
अर्थमन्त्री पौडेलले रुपन्देहीको विकास र अनुसन्धानका क्षेत्रमा जोड दिन आग्रह गर्नुभयो। महासङ्घका योजनालाई सफल बनाउन आफूले सधैं सहयोग गर्ने आश्वासन पनि दिनुभयो।
कार्यक्रममा महासङ्घका अध्यक्ष दिनेश पाण्डेले संगठनका वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराउँदै सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।