काठमाडौँ । नेपालको हिममण्डल संरक्षण, जलवायु न्याय तथा जलवायु परिवर्तनका कारण मुलुकले व्यहोर्नुपरेको नोक्सानी र क्षतिपूर्तिका विषयमा सशक्त आवाज उठाउने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘द ग्रीन टेबल’को १८औँ विशेष शृङ्खला आयोजना गर्ने भएको छ।
संयुक्त राष्ट्रसङ्घको आगामी महासभामा नेपालका तर्फबाट जलवायु न्यायका मुद्दा प्रभावकारी रूपमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ठोस सुझावसहितको प्रतिवेदन बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भदौ ३ गतेदेखि सुरु हुने वडा अधिवेशनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको कार्यक्रममा नेपालको वातावरणीय चुनौती, हिममण्डलमा भइरहेको ह्रास तथा भोटेकोशी क्षेत्रको जलवायुजन्य जोखिमबारे विज्ञहरूबीच छलफल हुनेछ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज २ गते शुक्रबार दिउँसो २ बजे कार्यक्रम आयोजना हुने जनाइएको छ। कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विशेष वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता सबिन दवाडीले विषय प्रवेश गराउने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. वसन्तराज अधिकारी र जलवायु विज्ञ डा. अरुणभक्त श्रेष्ठले वातावरणीय जोखिम तथा आगामी कदमबारे विशेष प्रस्तुति दिनेछन्।
त्यस्तै, वातावरण विज्ञ डा. भूपेन्द्र दास र अधिवक्ता रोशनी गिरी सहभागी रहने प्यानल छलफलको सहजीकरण वातावरण अभियन्ता भोला भट्टराईले गर्ने कांग्रेसले जनाएको छ।
कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षलाई समेटेर नेपालको जलवायु न्याय, हिममण्डल संरक्षण र जलवायु परिवर्तनबाट भएको क्षतिका विषयमा आगामी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सकिने ठोस सुझाव प्रतिवेदन तयार गर्ने कांग्रेसको तयारी छ।


