काठमाडौँ । घरपालुवा बिरालोको आकारजस्तै देखिने, शरीरमा चितुवाको जस्तो धब्बा र निधारमा धर्का भएको एउटा सानो जङ्गली बिरालोलाई वैज्ञानिकहरूले नयाँ प्रजातिका रूपमा पहिचान गरेका छन्। बोलिभियाको युङ्गास क्षेत्रका जङ्गलमा पाइने यस बिरालोलाई ‘टिल्काया क्याट’ नाम दिइएको छ।
बाहिरी स्वरूपका कारण यो जनावरलाई लामो समयसम्म दक्षिण तथा मध्य अमेरिकामा पाइने अन्य साना जङ्गली बिरालोमध्ये एक मानिँदै आएको थियो। तर नयाँ आनुवंशिक अध्ययनले यसको डीएनए अन्य प्रजातिसँग फरक रहेको देखाएको हो।
अनुसन्धानकर्ताहरूले जीवित बिरालोसँगै संग्रहालयमा सुरक्षित गरिएका नमुनाबाट डीएनए संकलन गरी ‘टाइगर क्याट’ समूहको वंशावली अध्ययन गरेका थिए। बोलिभियाको ला पाजस्थित युनिभर्सिडाड मृयर डि सान एम्ड्रेसकी वैज्ञानिक पाओला नोगालेस–अस्कारुनजले उद्धार केन्द्रमा स्वयंसेवा गर्ने क्रममा टिग्रिनो अन्य बिरालाभन्दा फरक रहेको पहिचान गरेकी थिइन्।
टिग्रिनोलाई एक स्थानीय बासिन्दाले जङ्गलमा फेला पारेका थिए। सुरुमा उनले त्यसलाई घरपालुवा बिरालोको बच्चा ठानेका थिए। तर हुर्कंदै गएपछि यसको व्यवहार घरपालुवा बिरालोको भन्दा निकै फरक देखिएको थियो।
नोगालेस–अस्कारुनजले बोलिभियाको युङ्गास क्षेत्रका घना जङ्गलमा यस्तै साना जङ्गली बिरालो देखिएको स्थानीय अभिलेख तथा भनाइबारे पनि जानकारी पाइन्। यद्यपि ती घटनाको वैज्ञानिक अनुसन्धान भने भएको थिएन।
त्यसपछि उनले विभिन्न देशका अनुसन्धानकर्तासँग सहकार्य गरी टाइगर क्याट समूहको आनुवंशिक तथा वंश विकाससम्बन्धी अध्ययन अघि बढाइन्। ब्राजिलका संरक्षण आनुवंशिकीविद् एडुआर्डो इजिरिकका अनुसार पर्याप्त नमुना, तस्बिर र संग्रहालय अभिलेखको अभावका कारण यो प्रजाति लामो समयसम्म वैज्ञानिक अनुसन्धानको दृष्टिबाट बाहिर रहेको थियो।
‘टाइगर क्याट’ समूहमा पाँच प्रजाति हुन सक्ने
नयाँ अध्ययनले नयाँ प्रजाति पहिचान गर्नुका साथै टाइगर क्याट समूहबारे यसअघिको वैज्ञानिक बुझाइमा समेत परिवर्तन ल्याएको छ। Current Biology मा प्रकाशित अध्ययनअनुसार यस समूहमा पहिले सोचिएभन्दा बढी प्रजाति हुन सक्ने देखिएको छ।
यसअघि टाइगर क्याट समूहमा तीन प्रजाति रहेको मानिँदै आएको थियो। नयाँ अध्ययनले भने कम्तीमा पाँच प्रजाति हुन सक्ने संकेत गरेको छ। यसमा बोलिभियामा पहिचान गरिएको नयाँ टिल्काया क्याट पनि समावेश छ।
टाइगर क्याटहरू मध्य तथा दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा पाइन्छन्। कोस्टारिकादेखि बोलिभिया र अर्जेन्टिनासम्म फैलिएको यस समूहका बिरालाहरू आकार, शरीरको रङ र धब्बाका कारण एकअर्कासँग निकै मिल्दोजुल्दो देखिन्छन्।
यसअघि पहिचान गरिएको ओन्सिला वा उत्तरी टाइगर क्याट पनि नयाँ प्रजातिसँग निकै मिल्दोजुल्दो देखिन्छ। त्यसैले बाहिरी स्वरूपका आधारमा मात्र यी बिरालाहरूलाई छुट्याउन वैज्ञानिकहरूलाई समेत कठिन हुने गरेको छ।
संरक्षणका लागि महत्वपूर्ण खोज
वैज्ञानिकहरूका अनुसार नयाँ प्रजातिको पहिचान वर्गीकरणसम्बन्धी उपलब्धि मात्र नभई संरक्षणका दृष्टिले पनि महत्वपूर्ण छ।
अक्सफोर्ड विश्वविद्यालयको वन्यजन्तु संरक्षण अनुसन्धान युनिटकी अनुसन्धानकर्ता क्यारोलिन सार्टोरका अनुसार कुनै प्रजाति के हो र कहाँ बस्छ भन्ने जानकारी नभएसम्म त्यसको प्रभावकारी संरक्षण गर्न कठिन हुन्छ।
टाइगर क्याट समूहका प्रजातिहरू वन फँडानी, प्राकृतिक बासस्थानको विनाश र अवैध सिकारका कारण जोखिममा छन्। नयाँ टिल्काया क्याट भने यसअघिका संरक्षण मूल्यांकनमा समावेश नै भएको थिएन।
हाल जीवित अवस्थामा टिग्रिनोबाहेक अर्को सदस्य पुष्टि नभएकाले नयाँ प्रजातिको वास्तविक संख्या र यसको वितरण क्षेत्रबारे अझै पर्याप्त जानकारी उपलब्ध छैन। अनुसन्धानकर्ताहरूले बोलिभियाको युङ्गास तथा आसपासका जङ्गलमा थप अध्ययन र खोजी आवश्यक रहेको बताएका छन्।
यस खोजले जैविक विविधताका सम्बन्धमा अझै धेरै कुरा पत्ता लाग्न बाँकी रहेको देखाएको वैज्ञानिकहरूको भनाइ छ। घरपालुवा बिरालोको आकारका जनावरसमेत लामो समयसम्म वैज्ञानिक अभिलेखबाट बाहिर रहन सक्नुले कम अध्ययन भएका उष्णकटिबन्धीय वन क्षेत्रमा अझै धेरै अज्ञात प्रजाति हुन सक्ने संकेत गरेको छ।
बिरालो परिवारमा थपिँदै नयाँ प्रजाति
विश्वका सबै घरपालुवा तथा जङ्गली बिरालाहरू फेलिडे (Felidae) नामक जैविक परिवारमा पर्छन्। यस परिवारमा घरपालुवा बिरालादेखि सिंह, बाघ, चितुवालगायत ठूला बिराला समावेश छन्।
हाल आधिकारिक रूपमा ४१ प्रजाति मानिँदै आएको बिरालो परिवारमा नयाँ खोज तथा टाइगर क्याट समूहको पुनःवर्गीकरणका कारण प्रजातिको संख्या ४४ वा त्यसभन्दा बढी पुग्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।
नेसनल म्युजियम स्कटल्याण्डका स्तनधारी विशेषज्ञ एन्ड्र्यु किचेनरले दक्षिण अमेरिकाका यी साना धब्बेदार बिरालालाई वर्गीकरणका दृष्टिले निकै जटिल समूहका रूपमा वर्णन गरेका छन्। उनका अनुसार समान शारीरिक बनोट, सीमित संग्रहालय नमुना र कम अभिलेखका कारण यी बिरालामध्ये कुन कुन प्रजातिका हुन् भन्ने विषयमा वैज्ञानिकहरूले अझै नयाँ तथ्य पत्ता लगाइरहेका छन्।


