Homeकोरोना बिशेषगेटाको कोरोना अस्पतालमा भर्ना सुरु

गेटाको कोरोना अस्पतालमा भर्ना सुरु

धनगढी : कैलालीको गेटामा नवनिर्मित भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ। सोमबारदेखि आईसीयू र भेन्टिलेटरबाहेकका कोरोनाका अक्सिजनमा राख्नुपर्ने बिरामीहरूको भर्ना सुरु भएको हो।

प्रदेश सरकारको उदासीनतापछि संघ सरकारले, जिल्ला कोभिड व्यवस्थापन समिति मातहत रहने गरी कोरोना केयर सेन्टर सञ्चालनमा ल्याएको हो। ‘अहिले ५० शय्याबाट सेवा सुरु गरिएको छ, बढी शय्या राखेर अक्सिजनको आपूर्तिमा असहजता नहोस् भनेर ५० शय्याबाट सुरु गरिएको हो,’ पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले भने।

तत्कालीन मन्त्री भएका बेला लेखराज भट्ट स्वयम् गेटा मेडिकलमा आएर, कोरोना केयर सेन्टरको घोषणा गरेका थिए। कोरोनाका बिरामीका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा ५० शय्या र महाकाली अस्पतालमा ५० शय्याको मात्रै डेडिकेटेड अस्पताल छ। यद्यपि, कोरोनाका बिरामीहरू बढेपछि सेती प्रादेशिक अस्पतालले उसको सर्जिकल वार्ड, इमरजेन्सीसहितका वार्डमा पनि एक सयभन्दा बढीलाई भर्ना गरेको छ। महाकालीले पनि एक सयभन्दा बढीलाई भर्ना लिँदै आएको छ।

सुदूरपश्चिममा दैनिक एक हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमित थपिरहेका छन्। उनीहरूमध्ये अक्सिजन सपोर्ट चाहिने बिरामी बढ्न थालेपछि गेटामा कोरोना केयर सेन्टरको सुरुआत गरिएको हो। गेटा मेडिकल कलेजको ६ सय शय्याको अस्पताल भवन, मेडिकल स्वास्थ्यका विद्यार्थीका लागि कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास, छात्रावास भवन, प्रशासनिक भवनहरू निर्माणको अन्तिम चरणमा छन्।

गेटामा सञ्चालनमा ल्याइएको कोरोना केयर सेन्टरमा १ सय १० शय्या जडान गरिएका छन्। अक्सिजनको कमीले अहिले ५० शय्या मात्रै सञ्चालनमा ल्याइएको हो। संघ सरकारले, बजेट दिने भनिएपछि, अहिले कार्यविधि बनिनसकेकाले त्यो बजेट भने आउन सकेको छैन।

अहिलेको सबै व्यवस्थापन कैलालीका नजिकका तीनवटा स्थानीय तहहरूले गरिरहेका छन्। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाले त्यहाँ चाहिने शय्या, मेट्रेस, प्रयोगशाला, जस्ताको घेरबार गराएका छन्। ‘संघीय सरकारको बजेट आएपछि केयर सेन्टर सञ्चालनमा सहज हुनेछ, अहिलेको सबै व्यवस्थापन तीनवटै तहले गरेका हौं,’ धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले भने। सुदूरपश्चिममा सोमबारसम्म १४ हजार कोरोनाका सक्रिय संक्रमित छन्। ठूला सरकारी अस्पतालहरूमा अक्सिजनको अभावको खबर सुनेर धेरै बिरामीहरू अहिले पनि रोग च्यापेर घरमै बसिरहेका बताउँछन् गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले भने।

कोरोना केयर सेन्टरका लागि तीनवटै स्थानीय तहले सेवासुविधा बेहोर्ने गरी एक जना फिजिसियन चिकित्सक, दुई जना मेडिकल अफिसर र १२ जना स्टाफ नर्स भर्ना गरिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले पनि गेटा मेडिकल कलेजमा कोरोना केयर सेन्टर सञ्चालनका लागि ५० लाख दिने निर्णय गरेको छ। प्रदेश कोरोना व्यवस्थापन समितिका संयोजक तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका