Saturday, January 18, 2025
Homeअर्थ र ब्यापारगुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

गुल्मी: गुल्मीका किसानहरू व्यावसायिक किबीखेतीतर्फ आकर्षित भइरहेका छन्। सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। २०६५ सालदेखि किबीखेती सुरु गरेका यहाँका किसानका बारी अहिले किबीका लहराले भरिएका छन्। किबीखेतीले किसानहरूको आर्थिकस्तरमा सुधार ल्याउँदै गएको छ।

जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिका सत्यवती गाउँपालिका हो। सत्यवतीको भार्से क्षेत्रमा ४० हेक्टर जग्गामा किबीखेती भइरहेको छ। यो वर्ष भार्सेका किसानहरूले ८० टनभन्दा बढी किबी उत्पादन गरेको वडासदस्य यमबहादुर थापाले जानकारी दिनुभयो। यहाँ उत्पादित किबी स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म बिक्री भइरहेको छ। भार्सेका किबीको औसत मूल्य बजारमा रु २०० प्रतिकिलो रहेको छ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेपछि किबी उत्पादनमा स्थानीयको आकर्षण बढ्दै गएको हो। गाउँपालिकाले किसानहरूलाई प्राविधिक सहयोग, तालिम, बिरुवा, पोल निर्माण, र सिँचाइ सुविधामा सहयोग गर्दै आएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार यस वर्ष नर्सरी स्थापना, बगैँचा व्यवस्थापन, र किबीको जाम तथा वाइन उत्पादनसम्बन्धी तालिमसमेत प्रदान गरिएको छ।

किसान यमबहादुर थापाले आफ्नो बारीमा रहेका १५० मध्ये १३० बोट किबीले फल दिन थालेको बताउनुभयो। यस वर्ष उहाँले २५ क्विन्टल किबी उत्पादन गरी स्थानीय बजार हुँदै पाल्पा र बुटवलमा बिक्री गर्नुभएको छ। किबीको उत्पादन बढेसँगै मूल्यमा केही गिरावट आएको उहाँको भनाइ छ। उहाँका बारीमा ‘रेडकिबी,’ ‘हेवार्ड,’ ‘एलिसन,’ र ‘ब्रुनो’ गरी चार प्रजातिका किबी छन्। अन्य खेतीभन्दा किबीखेतीले राम्रो आम्दानी दिने उहाँको अनुभव छ।

सिजनमा भार्सेका बारी किबीले भरिएका हुन्छन्। किबीको बिरुवाले रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ र एक बोटले ६० देखि १२० किलोसम्म फल दिन्छ। बाँदर, बँदेल, र चराचुरुङ्गीले अन्य खाद्य बाली नष्ट गर्ने समस्या रहेको अवस्थामा किबीखेती यहाँका किसानका लागि वरदान सावित भएको छ। किबी झुसिलो हुने भएकाले वन्यजन्तु टाढा बस्ने गर्छन्।

गुल्मीमा १,२०० देखि २,००० मिटर उचाइका क्षेत्रहरूमा किबीखेती भइरहेको छ। सत्यवती गाउँपालिका बाहेक कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, र छत्रकोट पालिकाहरूमा पनि किबीको व्यावसायिक खेती विस्तार भइरहेको छ।

किबी एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ। भिटामिन ‘सी’को उच्च मात्रा र फाइबरले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पाचन प्रक्रियामा सुधार गर्छ। किबीलाई जुस र सलादका रूपमा उपभोग गरिन्छ। यसमा रहेका पौष्टिक तत्वका कारण सबै उमेरका व्यक्तिहरूका लागि किबी उपयुक्त मानिन्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका