Saturday, January 18, 2025
Homeसामाचारगुन्द्री बुन्ने चलन लोप हुँदै

गुन्द्री बुन्ने चलन लोप हुँदै

वालिङ (स्याङ्जा): पछिल्लो समयमा स्याङ्जाको वालिङ क्षेत्रमा गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ। खेतमा धान काटेर दाइँ गर्ने बेला लामो–लामो पराल छाँटेर राख्ने र फुर्सदको समयमा गुन्द्री बुन्ने चलन थियो, तर अहिले यो परम्परा लोप हुने अवस्थामा पुगेको छ।

विशेषगरी पुस–माघका फुर्सदिला दिनमा हाते तानको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्थ्यो। धार्मिक पूजाआजा तथा पितृकार्यमा धानको परालबाट बुनिएका नयाँ गुन्द्रीको प्रयोग गरिन्थ्यो। तर, बजारमा प्लास्टिकका गुन्द्री र म्याट उपलब्ध भएपछि परम्परागत गुन्द्री बुन्ने चलन घट्दै गएको हो।

वालिङ–८ की सीता सुवेदीका अनुसार प्लास्टिकका गुन्द्री र म्याटले परम्परागत गुन्द्रीको स्थान लिँदै गएका छन्। “बजारमा प्लास्टिकका गुन्द्री र म्याट सजिलै पाइन्छ, तिनकै प्रयोग गर्न थालियो,” सुवेदीले भनिन्। “गुन्द्री बुन्न अब हामीले सकिँदैन, नयाँ पुस्ताले त झन यसलाई झन्झटिलो ठान्छन्।”

खेतीपाती घट्नु र हाइब्रिड जातको धानले छोटो पराल उत्पादन गर्नुले पनि गुन्द्री बुन्ने परम्परा प्रभावित भएको सुवेदीको भनाइ छ। सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोगले परम्परागत गुन्द्री बुन्ने चलनलाई विस्थापित गरेको वालिङ–८ की रन्नता बगालेले बताइन्।

गुन्द्री बुन्ने काम झन्झटिलो भएकाले नयाँ पुस्ता यसतर्फ आकर्षित नभएको र पुरानो पुस्ताले आफ्नो सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा यो परम्परा लोप हुने खतरा रहेको छ।

गुन्द्री बुन्ने क्रममा परालको लम्बाइअनुसार चौडाइ निर्धारण गरिन्छ। छोटो परालबाट थर्कटी र चकटी बुनिन्छ। स्थानीय स्रोत र साधनको प्रयोग गरी धानको पराल, जुटको धागो, र बाबियोको खरबाट गुन्द्री तयार गरिन्छ। हाते तानको सहायताले बाबियोको डोरीमा पराल बुनिने र काठको हतासोले ठोक्दै गुन्द्री तयार पार्ने चलन थियो।

परम्परागत सीप र ज्ञान संरक्षण नगर्दा यस संस्कृति हराउँदै गएकोमा स्थानीयवासी चिन्तित छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका