Sunday, April 12, 2026
Homeमनोरन्जनगायक यम बरालका तीन नयाँ गीत सार्वजनिक

गायक यम बरालका तीन नयाँ गीत सार्वजनिक

काठमाडौँ — गायक यम बरालद्वारा स्वरबद्ध तीन वटा नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ गीत तथा तिनका म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विशिष्ट अतिथि वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, चर्चित कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला र वरिष्ठ पत्रकार ऋषि धमलालगायतले संयुक्त रूपमा गीत तथा भिडियो सार्वजनिक गरे।

सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतको भिडियो केशव राज भट्टको निर्देशनमा तयार गरिएको हो। भिडियोमा अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन तथा जुना कार्की र गायक यम बरालको अभिनय रहेको छ।

त्यसैगरी दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत रहेको छ। यस गीतको निर्देशन स्वयं गीतकार सञ्जय बरालले गरेका हुन्। भिडियोमा यम बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ। भिडियोमा विक्रम डीसीको छायांकन र विकास धमलाको सम्पादन छ।

तेस्रो गीत ‘टेण्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक यम बराल स्वयंको अभिनय देख्न सकिन्छ। भिडियोमा नमित चन्द ठकुरी एसोसिएट निर्देशक, मनोज केसी छायाँकार र शुकुन तिमल्सिनाको सम्पादन रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गायक यम बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए। करिब ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय रहँदै आएका बरालले आफू फण्डाभन्दा साधनामा रमाउने कलाकार भएको उल्लेख गरे। संगीत नै आफ्नो पहिचान भएकाले निरन्तर सिर्जनामा सक्रिय रहने उनको भनाइ थियो। उनले आफूलाई विश्वास गरेर सहकार्य गर्ने गीतकार, संगीतकार र सम्पूर्ण स्रष्टाप्रति आभार व्यक्त गरे।

संगीतकार शंकर थापा ‘स्माइल’ले यम बरालको गायकीको प्रशंसा गर्दै उनको स्वरमा विशेष माधुर्यता रहेको बताए। ‘यो साँझ फेरी’ गीतका सन्दर्भमा बोल्दै उनले गायक बराल र गीतकार गौचनसँगको सहकार्यबाट उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रयास गरिएको उल्लेख गरे।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले यम बराल आफूलाई मन पर्ने गायकहरूमध्ये एक भएको बताए। जीवनका व्यक्तिगत पीडाका कारण आफू भावुक भइरहने गरेको उल्लेख गर्दै उनले बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए। साथै, उनले संगीतकार शंकर थापाको सिर्जनाको खुलेर प्रशंसा गरे।

वरिष्ठ संगीतकार दीपक जंगमले सार्वजनिक गीतहरूका विभिन्न पक्षको चर्चा गर्दै शब्द, संगीत र स्वरबीच उत्कृष्ट सन्तुलन रहेको बताए। वरिष्ठ पत्रकार ऋषि धमलाले यम बरालले इलामलाई गीत–संगीतमार्फत चिनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।

त्यस्तै, विशेष अतिथि दीपाश्री निरौलाले यम बरालको गायकीको प्रशंसा गर्दै सार्वजनिक भिडियोहरू पनि प्रभावशाली लागेको बताइन्। कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार शान्तिप्रिय, एनआरएनए कोरियाका संस्थापक अध्यक्ष गंगा राज राई, संगीतसर्जक गणेश पराजुलीलगायत गीत–संगीत क्षेत्रका स्रष्टा, कलाकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका