गण्डकी: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति, र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासतर्फ अघि बढेको बताउनुभएको छ।
प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशको अवसरमा प्रदेशवासीलाई शुभकामना दिँदै मुख्यमन्त्री पाण्डेले समन्वय, सहअस्तित्व, र सहकारिताको सिद्धान्तमा आधारित लोकतन्त्र र सुशासन स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
“संवैधानिक मूल्य र कानुनको पालना गर्दै प्रदेश सरकार नीतिगत, कानुनी, र संस्थागत पक्षलाई बलियो बनाउन परिपक्व बन्दै गएको छ,” उहाँले भन्नुभयो। सरकार आत्मनिर्भर र समुन्नत प्रदेश निर्माणको संकल्प पूरा गर्न कटिबद्ध रहेको उहाँको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले समावेशी र दिगो विकासलाई अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेको बताउँदै नागरिकलाई चुस्त सेवा र सुशासनको अनुभूति दिलाउने सरकारको प्राथमिकता रहेको स्पष्ट गर्नुभयो।
“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य पूरा गर्ने दिशामा सरकारको नीति तथा कार्यक्रम सञ्चालन भइरहेको छ,” शुभकामना सन्देशमा उल्लेख गरिएको छ।