Friday, May 15, 2026
Homeखेलकुदके वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट : नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग...

के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट : नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने

काठमाडौँ, १५ भदौ – ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रिने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपले यही भदौ २२ गते (७ सेप्टेम्बर २०२५) जापानको टोकियो सहरमा आयोजना गर्न लागेको यस अन्तरराष्ट्रिय प्रतियोगितामा घिमिरेले ऐतिहासिक यात्रा तय गर्न लागेका हुन् ।

‘हिमालयन चितुवा’का नामले विश्वभर परिचित घिमिरेसँगै चीन, बुल्गेरिया, नेदरल्याण्ड्स, सेनेगल, ब्राजिल, पोल्याण्ड, आर्मेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस र माल्डोभाका चर्चित बक्सरहरू पनि प्रतिस्पर्धामा उत्रिनेछन् ।

के वान क्लबले सार्वजनिक गरेको तालिकाअनुसार, घिमिरेले प्रतियोगिताको पहिलो दिन फ्रान्सका बक्सर आइमेरिक लेजीजीसँग भिड्नेछन् । नेपालका लागि नयाँ कीर्तिमान कायम गर्दै आएका घिमिरेले सोही खेलबाट आफ्नो अद्वितीय किक बक्सिङ प्रतिभा विश्वसामु प्रदर्शन गर्ने तयारी गरेका छन् । पहिलो खेल जितेमा उनलाई यही कात्तिक २९ (नोभेम्बर १५, २०२५) मा एकैदिन तीन खेल खेल्नुपर्नेछ । ती सबै खेल जित्न सफल भएमा उनी किकबक्सिङ इतिहासकै नम्बर वान खेलाडीको उपाधि जित्ने सम्भावना छ ।

‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’लाई किकबक्सिङ खेलको सर्वोच्च प्रतियोगिता मानिन्छ । यसका लागि घिमिरेले तयारीलाई तीव्र बनाएका छन् । आफ्नै खर्चमा थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा विशेष प्रशिक्षण लिएर हालै जापान फर्किएका उनी, अहिले आफ्ना पिता तथा पूर्वअन्तरराष्ट्रिय किक बक्सर देव घिमिरेकै मार्गदर्शनमा अभ्यासरत छन् ।

टोकियो र सिवुआलगायत सहरका सार्वजनिक स्थलमा नेपाली झण्डासहित ‘हिमालयन चितुवा’का तस्बिरहरू प्रदर्शन गरिएको छ । विद्युतीय बोर्डहरूमा घिमिरेका प्रतिस्पर्धीहरूसँगको भिडन्त देखाइँदै प्रचारप्रसार भइरहेका छन् ।

राजदूत सुवेदीको शुभकामना

जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले घिमिरेलाई सफलताको शुभकामना दिएका छन् । उनले प्रतियोगितामा नेपाली बक्सरको सहभागिता नै ऐतिहासिक उपलब्धि भएको जनाएका छन् ।

यस्तो छ ‘हिमचितुवा’को उपलब्धि

अविरलले हालसम्म हिट किकबक्सिङ तीनपटक ‘टाइटल डिफेन्स’ गर्दै चारपटक ‘हिट किकबक्सिङ टाइटल म्याच’, इन्टरनेशनल किकबक्सिङ एशोसिएसन (इस्का) ‘टाइटल’ र ‘के वान क्रस–१७५ टाइटल’ जितिसकेका छन् । २५ अन्तरराष्ट्रिय खेल खेलेका उनले १९ जितमध्ये १८ नकआउटमार्फत हात पारेका छन् ।

गत जेठ ४ गते जापानको ओसाकामा सम्पन्न ‘के वान क्रस १७५’ जितेर उनले एकैपटक तीन अन्तरराष्ट्रिय उपाधि चुमेका थिए । त्यहाँ उनले जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउण्डमै नकआउट गर्दै विश्वच्याम्पियन बनेका थिए ।

‘के वान क्रस १७५’लाई किकबक्सिङ क्षेत्रमा अत्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । इस्का र हिट टाइटल बेल्ट जित्ने घिमिरे पहिलो नेपाली खेलाडी हुन् ।

अविरल हाल आफ्ना पिता देवसँगै जापानको नागोयामा बस्छन् । उनका पिता देव घिमिरे सन् २००४ मा कोरियाको सोलमा आयोजित ‘के वान प्रफेशनल किकबक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी थिए । चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारा बलम्बूका मूल घर भएका घिमिरे परिवार हाल जापानमा बस्दै आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका