Saturday, January 18, 2025
Homeअर्थ र ब्यापारकृषि विकास बैंक लहानले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित

कृषि विकास बैंक लहानले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित

सिरहा: कृषि विकास बैंक लहान शाखाले करोडौँको मूल्य पर्ने जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बिहीबार प्रदर्शनकारीले घण्टौँसम्म टायर बालेर लहानस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।

प्रदर्शनकारीहरूले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए, जसका कारण प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रुग्यास र चार राउन्ड हवाई फायर गरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो। उहाँका अनुसार झडपमा १० भन्दा बढी प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीको घाइते अवस्था भने यकिन हुन सकेको छैन।

केही प्रदर्शनकारीलाई पक्राउ गरी इलाका प्रशासन कार्यालय लहानमा राखेर पहिचान गर्ने काम भइरहेको प्रवक्ता पासवानले बताउनुभयो। चार घण्टापछि स्थिति सामान्य भई राजमार्ग पुनः सञ्चालनमा आएको थियो।

स्थानीय किसान रामचन्द्र यादवका अनुसार बैंकले सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ मा लिएको ३० लाख रुपैयाँको ‘ओडी’ ऋणका लागि रू १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि जग्गा सस्तोमा लिलाम गरिएपछि आफू अन्यायमा परेको छ। यसले उनीहरूलाई आन्दोलन गर्न बाध्य बनाएको यादवले बताउनुभयो।

यसअघि पुस ११ मा स्थानीयले बैंकमा तालाबन्दी गरेका थिए। त्यस दिन बैंक र प्रदर्शनकारीबीच आठ घण्टाको वार्तापछि तालाबन्दी खुलेको थियो। वार्तामा लिलाम भएका जग्गा रोक्का गर्न र कानुनी प्रक्रिया मिलाएर जग्गा ऋणीको नाममा कायम गर्न सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नभएपछि आन्दोलन चर्किएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास शारदाले बताउनुभयो।

शारदाका अनुसार, बैंकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याङ्कन ८० लाख गरे पनि चार वर्षपछि मूल्य घटाएर ६५ लाख पु¥याएको र त्यसलाई मात्र ३५ लाखमा लिलाम गरेको देखिन्छ। चलनचल्ती अनुसार १ करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमा लिलाम हुनु गलत भएको पीडित यादवले दाबी गर्नुभयो। “गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा घर बनाउनका लागि जग्गा किन्यौँ, तर बैंकले लिलाम गर्दा बेघर भयौँ। सरकारबाट न्याय पाउनुपर्छ,” यादवले भन्नुभयो।

अर्कोतर्फ, कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गर्न राष्ट्र बैंक जनकपुर कार्यालयलाई अनुरोध गरेको जनाएको छ। जनकपुरस्थित राष्ट्र बैंकका प्रमुख माधव दङ्गालका अनुसार, ऋणीले २०७९ सालदेखि सावाँ-ब्याज नबुझाएको र बैंकले चारपटक सूचना दिएपछि लिलाम प्रक्रिया अघि बढाएको हो।

“प्रक्रियामा त्रुटि भएको वा चित्त नबुझेको भए ऋणी कानुनी प्रक्रियामा जानुपर्छ। राष्ट्र बैंक सहजीकरण गर्न तयार छ,” दङ्गालले बताउनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका