२१ वैशाख, काठमाडौं । काठमाडौं, झोंछेकी स्थानीय ८० वर्षीया नानीमैया महर्जनलाई याद भएसम्म उनी ५० वर्षसम्म काठ, माटो, इँटा र ढुंगाले बनेको चारतले परम्परागत घरमा बसिन् । उनी आफ्नै खेतबारीमा प्रशस्त अन्नबाली उब्जाउँथिन् । अँगेनामा पाकेका खानेकुरा खान्थिन् ।
अचेल उनी आफ्ना छोराले बनाएको सिमेन्टको घरमा बस्छिन् । जहाँ ग्याँस नबाली खाना पाक्दैन । एसी/पंखा र हीटर नचलाई हिउँद र बर्खा काट्न सकिंदैन । तीव्र रूपमा विकास भएको काठमाडौं उपत्यकाबारे उनी अचम्मित छिन् ।
उनी भन्छिन्, ‘मैले पूरै जीवन काठमाडौंमै बिताएँ । भूकम्प, राजनीतिक उतारचढावलगायत थुप्रै घटनाक्रम देखें/भोगें तर धान फल्ने माटोमा घरैघर, असमान मौसम, मान्छे नै मान्छे भएको अहिलेको जस्तो माहोल कहिल्यै देखिनँ । अचेल यी सबै कुरा तुलना गर्दा अचम्म लाग्छ ।’
सिमेन्टको घरमा बस्दा विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको नानीमैया सुनाउँछिन् । ‘उहिलेका घरमा बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्थ्यो । त्यो बेला हाम्रा बा–आमाले बुढेसकालसम्म पनि बिरामी परें भनेको सुनेका थिएनौं । अचेल सिमेन्टको घरमा बसेर होला हातखुट्टा सुन्निने, ढाड दुख्ने र छाला चिलाउने समस्याले सताउन थालेको पनि ३० वर्ष जति भयो । यसबाहेक समस्या त कति छन् कति ?’
सिमेन्टबाट बनेका संरचनामा बस्दा मानव शरीरमा पर्ने असरबारे नेपालमा कुनै अध्ययन भएको जानकारी पाइएन । तर, सन् २०१९ फेब्रुअरी २८ मा दि गार्जियनमा प्रकाशित ‘कंक्रिटले हाम्रो शरीरमा के गर्छ ?’ शीर्षकको लेखका अनुसार, सिमेन्टका घरहरूमा बस्दा हातखुट्टा सुन्निने, हाडजोर्नी र ढाड दुख्ने, श्वासप्रश्वास प्रणालीमा समस्या उत्पन्न हुन्छन् । यति मात्र नभई कंक्रिटमा हुने सिलिकाको धूलोले सिमेन्टसँग काम गर्ने व्यक्तिको फोक्सो कमजोर हुने, दम, क्यान्सरलगायत समस्या देखा पर्छन् ।
सात गुणा बढी घर
काठमाडौं उपत्यकाभित्र २०५२–२०६२ द्वन्द्वकाल र २०७२ को भूकम्पपछि बसाइँसराइ अव्यवस्थित रूपले बढ्यो । बढ्दो जनसंख्याका लागि आवास बन्ने क्रममा सिमेन्टका नयाँ संरचना बने ।
स्वयम्भू, बौद्ध, असन, साँखु, चाँगुनारायण, बसन्तपुर, पाटन दरबार, खोकनालगायत वागमती सम्पदा क्षेत्रमा थुप्रै प्राचीन परम्परागत घरहरू देखिन्थे । ती अहिले लोप हुँदै गएका छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र मात्र आवासका लागि निर्माण सम्पन्न र निर्माणाधीन अपार्टमेन्टहरूको संख्या ६९ रहेको छ ।
यस्तै, काठमाडौं महानगरपालिकाको कुल क्षेत्रफल ५० वर्ग किलोमिटर छ । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०५६/५७ देखि २०७६/७७ सम्मको अवधिमा महानगरपालिका भित्र बनेका घरहरूको संख्या ७० हजार ९० छ ।
१८ वर्षदेखि महानगरपालिकामा कार्यरत भवन निर्माण अनुमति विभाग प्रमुख आर्किटेक्ट सुरज शाक्यका अनुसार यो घर संख्या यहाँको क्षेत्रफलले धान्ने भन्दा सात गुणा बढी हो । तीमध्ये अधिकांश सिमेन्ट, कंक्रिटलगायत आधुनिक निर्माण सामग्रीबाटै बनेका घरहरू हुन् ।
२०५० सालमा भवन सम्बन्धी मापदण्ड लागू भएपछि महानगरपालिकाभित्र सिमेन्टका पक्की घर बनाउनेको संख्या ह्वात्तै बढ्यो । खाली ठाउँको अभावका कारण २०७५/७६ पछि भने घर बनाउनेको संख्या घटेको छ । खाली ठाउँको नाममा महानगरपालिकाभित्र रहेका केही सार्वजनिक स्थल (पार्क र पोखरी क्षेत्र) हरू मात्र बाँकी छन् ।
कंक्रिटको मुख्य स्रोतको रूपमा रहेको सिमेन्टको उत्पादन दर बढी छ । सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाका अनुसार नेपालमा करीब ८५ देखि ९५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
यी उद्योगको सिमेन्ट उत्पादन क्षमता वार्षिक करीब २ करोड टन छ भने हरेक वर्ष ८० लाख टनदेखि १ करोड ५० लाख टन सिमेन्ट उत्पादन हुन्छ । नेपाली बजारको माग १ करोड टन छ । नेपालमा सिमेन्टबाट कति घर र संरचना बन्छन् भन्ने यकिनका साथ भन्न नसकिने अध्यक्ष थापा बताउँछन् ।
सिमेन्ट बाहेक छड, डण्डी, स्टीललगायत आधुनिक निर्माण सामग्रीको उत्पादन दर पनि उस्तै अनुपातमा वृद्धि भइरहेको छ । यी निर्माण सामग्रीको गुणस्तर सम्बन्धी अध्ययन र अनुसन्धान बेलाबखत सरकारको विभिन्न विभागले गरे तापनि यी सामग्रीले वातावरण, पृथ्वीको तापक्रम र मानव स्वास्थ्यमा पार्ने असरसम्बन्धी अध्ययन भने न्यून भेटिन्छ ।
तापक्रममा असर
च्याथम हाउस नामक बेलायती संस्थाले १३ जून २०१८ मा सार्वजनिक गरेको एक अध्ययन अनुसार सिमेन्टबाट ८ प्रतिशत कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ ।
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का प्रा.डा. सुशील बज्राचार्यले सन् २०१४ मा काठमाडौं उपत्यकाका परम्परागत र सिमेन्टका घरहरूबाट निस्कने तापक्रमबारे ‘द थर्मल पर्फमेन्स अफ ट्रेडिसनल रेजिडेन्सियल बिल्डिङ्स इन काठमाडौं भ्याली’ शीर्षकको अध्ययन अनुसार उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ ।
प्रा.डा. बज्राचार्यका अनुसार काठमाडौं उपत्यकाको परम्परागत भवन संरचना (इँटा, काठ, ढुंगा र माटो प्रयोग भएको घर) र सिमेन्ट, स्टील, छड, डण्डीलगायत आधुनिक निर्माण सामग्रीले बन्ने घरहरूको तापक्रममा २ डिग्री सेल्सियसको फरक हुन्छ ।
जाडोयाममा परम्परागत घरभित्रको तापक्रम बाहिरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सियस बढी र गर्मीयाममा १ देखि २ डिग्री सेल्सियसले शीतल हुन्छ । तर सिमेन्टजन्य वस्तुबाट बनेका घरहरूको तापक्रम भने ठ्याक्कै उल्टो हुन्छ ।
तापक्रममा असमानता कसरी हुन्छ त ? ‘इँटा, सिमेन्ट, छड, स्टील, मार्बललगायत मानवनिर्मित निर्माण सामग्रीमा ४० प्रतिशत कार्बन उत्सर्जन गर्ने तत्व हुन्छ’ प्रा.डा. बज्राचार्य भन्छन्, ‘यी सामग्री उत्पादन गर्दा इम्बोडिड इनर्जी (निर्माण सामग्री बन्ने क्रममा त्यसमा निहित ऊर्जा) खपत हुन्छ । सामग्री उत्पादन गर्दादेखि अन्तिमसम्म जति इम्बोडिड इनर्जी लाग्छ, उति नै धेरै कार्बन उत्सर्जन हुन्छ । त्यसैले तापक्रममा असमानता देखापर्छ ।’
गम्भीर छैनन् सरकारी निकाय
शहरी विकास मन्त्रालयले शहरको परिकल्पना कस्तो हुने भन्नेबारे योजना बनाउँछ । तर, सिमेन्टजन्य वस्तुको उत्पादन र प्रयोगले हुने तापक्रम वृद्धि र यसको न्यूनीकरणको विकल्पबारे उसले पनि गम्भीरतापूर्वक सोचेको देखिंदैन ।
सन् २०१६ मा आयोजित पेरिस सम्झौतामा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा कायम राख्ने जलवायु परिवर्तन न्यूनीकरणको लक्ष्यमा नेपाल सरकारले हस्ताक्षर गरेको छ । सरकारले त्यस्तो प्रतिबद्धता जनाए पनि हाल उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसले वृद्धि भइरहेको प्रा.डा. वज्राचार्यले गरेको उक्त अध्ययनले पुष्टि गरिसकेको छ ।
नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए अनुसार वातावरण विभागले नेशनल एडप्टेसन प्रोग्राम अफ एक्सन (नापा) र लोकल एडप्टेसन प्लान्स अफ एक्सन (लापा) को फ्रेमवर्क बनाएको छ । जलवायु परिवर्तन र पृथ्वीको तापक्रम न्यूनीकरण गर्न शहरी योजना कार्यान्वयन गर्दा लापाको नीतिको अनुसरण गरिन्छ ।
तीव्र रूपमा गति लिएको शहरी पूर्वाधार विकास र निर्माणमा अत्यधिक प्रयोग गरिने सिमेन्टका सामग्रीले जलवायु परिवर्तन र तापक्रम वृद्धिबारे सरकारी निकायलाई खासै वास्ता छैन भने हुन्छ ।
यस सम्बन्धमा शहरी विकास मन्त्रालयका उपसचिव पदम अर्यालसँग बुझ्न खोज्दा उनी प्रश्न गर्छन्, ‘न्यूयोर्क, नयाँदिल्ली, बेइजिङलगायत संसारका ठूल्ठूला शहर विकास हुँदा जलवायु परिवर्तनमा असर नहुने तर काठमाडौं शहर विकास हुँदा सिमेन्टजन्य वस्तुको असर हुने ?’
उनी भन्छन्, ‘विकसित मुलुकहरूले गरेको विकासको कारण नेपालमा अप्रत्यक्ष असर देखिएको हो । त्यसले हाम्रा हिमालको हिउँ पग्लिएको हो । नयाँ प्रविधि विकास र संरचना बन्दा प्रचारप्रसार गर्नेबाहेक विकसित मुलुकहरूसँग के छ ? हामीसँग प्रशस्त जंगल र खोलानाला छन् । हाम्रो अहिलेको मुख्य चिन्ता भनेको आधारभूत आवश्यकता पूर्ति हो ।’
सरकारी निकायको यो बेवास्ताले समस्या झनै बढ्ने चिन्ता व्यक्त गर्छन्, काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास योजना आयुक्त तथा शहरी योजनाविद्, योगेश्वरकृष्ण पराजुली । ‘शहरी योजना अन्तर्गत घर मात्र नभई समष्टिगत दिगो विकासबारे सरकारी निकाय गम्भीर हुनुपर्छ’ उनी भन्छन्, ‘सिमेन्ट तथा आधुनिक निर्माण सामग्री प्रयोग गर्दा यसले सूक्ष्म रूपमा मौसमलाई कसरी असर गरिरहेको छ भन्नेबारे सचेत हुनुपर्छ । तब मात्र हामीले जलवायु परिवर्तन र तापक्रम वृद्धिलाई सन्तुलनमा राख्न सक्छौं ।’
विकल्पः ‘ग्रीन आर्किटेक्चर’
वायुमण्डलीय तापक्रम सन्तुलन र पर्यावरणको सही विकल्पका रूपमा विकास भएको अवधारणा हो, ‘ग्रीन आर्किटेक्चर’ (हरित आर्किटेक्चर) । जुन पछिल्लो समय चीन, अमेरिका, टर्की, स्पेन, जर्मन, कोरियालगायत विकसित मुलुकले कार्यान्वयनमा ल्याएका छन् । नेपालको हकमा भने केही कम्पनी छन्, जसले हरित आर्किटेक्चरको अवधारणामा काम गरिरहेका छन् ।
यसमध्ये एक घर कन्स्ट्रक्सनका सञ्चालक एवम् हरित आर्किटेक्चरका प्रवर्द्धक इन्जिनियर विराट संग्रौला हरित आर्किटेक्चरलाई पृथ्वीको बढ्दो तापक्रम वृद्धि सन्तुलनमा राख्ने उचित विकल्प बताउँछन् ।
‘सिमेन्ट र आधुनिक निर्माण सामग्रीसँगै ऊर्जा उत्पादन र खपत पनि आफैंमा तापक्रम वृद्धिको मुख्य स्रोत हो’ उनी भन्छन्, ‘हरित आर्किटेक्चरको अवधारणासहित बनेका घरहरू ऊर्जा उत्पादन र खपतमा आत्मनिर्भर हुन्छन् । त्यसैले ऊर्जा खपतबाट हुने तापक्रम वृद्धिको समस्या रोक्ने विकल्पमा हरित आर्किटेक्चरको अवधारणा उचित छ ।’
हरित अवधारणा अन्तर्गत काठमाडौं महानगरपालिकाले पनि २०६८/६९ देखि एउटा मापदण्ड लागू गरेको छ । जसअनुसार घरको नक्शा पास गर्दा प्रशस्त जग्गा हुनेले घरमा अनिवार्य दुईवटा रूख रोप्नुपर्ने र नहुनेले घरको कौसीमा कम्तीमा पनि पाँच वटा गमला राख्नुपर्ने मापदण्ड छ । नतिजा स्वरूप उपत्यकाभित्रका अधिकांश घरको कौसी/बरण्डामा बोटहरू रोपेको भेटिने महानगरपालिका भवन निर्माण अनुमति शाखा प्रमुख आर्किटेक्ट शाक्य बताउँछन् ।
मापदण्ड बनाउँदैमा र बाहिर हरियो देखिंदैमा हरित आर्किटेक्चरको अवधारणा मान्न नसकिने इन्जिनियर विराट बताउँछन् । ‘महानगरपालिकाको गमलाको अवधारणा ग्रीन आर्किटेक्चरको एउटा सानो रणनीति–कार्यक्रमभित्र पर्छ’ उनी भन्छन्, ‘मुख्य कुरा डिजाइनर तथा सञ्चालकले कुन उद्देश्यले बनाएको छ, नतिजामुखी छ/छैन भन्ने कुराले निर्धारण गर्छ ।’ नेपालको भूगोल अनुसार मौसम अनुकूलता हेरेर घर डिजाइन गर्दा हरित आर्किटेक्चर प्रभावकारी हुने संग्रौला बताउँछन् ।
यद्यपि, नेपाल जस्तो विकासोन्मुख मुलुकमा पर्यावरण मैत्री तथा ग्रीन आर्किटेक्चरको अवधारणा र अभ्यास सम्भव नभएको महानगरपालिका भवन निर्माण अनुमति शाखा प्रमुख आर्किटेक्ट शाक्य बताउँछन् । ‘जोसँग प्रशस्त पैसा छ, त्यसले मात्र हरित आर्किटेक्चर बनाउने हो’ उनी भन्छन्, ‘पैसा जतिसुकै खर्चिए पनि हाम्रोजस्तो विकासोन्मुख/अल्पविकसित मुलुकका मानिसले आर्थिक र सामाजिक सुरक्षाका लागि भए पनि पक्की घर नै रोज्छन् । सिमेन्ट जतिको टिकाउ हरित आर्किटेक्चर हुँदैन । त्यसैले तत्काल यस अवधारणामा जान सम्भव छैन ।’
आर्किटेक्ट शाक्यको भनाइमा इन्जिनियर संग्रौला सहमत छैनन् । ‘हाम्रो जस्तो मुलुकमा हरित अवधारणा सहजै सम्भव नहुनुमा प्रकृतिप्रतिको बेवास्ता, यस अवधारणामा काम गर्ने दक्ष जनशक्ति र प्रवर्द्धनको अभावले हो । त्यो म मान्छु’ उनी भन्छन्, ‘तर पैसा हुनेहरू मात्र ग्रीन आर्किटेक्चरमा जान्छन्, यो टिकाउ हुँदैन भन्ने हाम्रो धारणा भने गलत छ । सिमेन्टजन्य सामग्रीबाट बन्ने घरहरूमा नै हरित आर्किटेक्चरका विशेषता जोडिने र यस्तैखाले रणनीति अपनाइने हुँदा यो टिकाउ र उचित मूल्यमा पनि बनाउन सकिन्छ ।’
संग्रौलाका अनुसार हरित आर्किटेक्चर आफैंमा फराकिलो विषय भएकोले यसका रणनीतिमा भवन डिजाइनको ‘लेआउट’, भवन अभिमुखीकरण (ओरियन्टेसन), भवनमा प्रयोग हुने सामग्री बीचको इन्सुलेसन (सामग्रीले ढाक्नु) देखि झ्यालको सिलिङ डिजाइन, वृक्षरोपण, फोहोरमैला व्यवस्थापन, बर्खाको पानी संकलन विधि आदि पर्छन् ।
तीमध्ये सूर्यको प्रकाश र हावाको गति अनुसार भवनको मोहडा कुन दिशापट्टि फर्काउने भन्नेबारे भवन अभिमुखीकरण र इन्सुलेसन/क्याभिटी वालको रणनीति मात्र अपनाउने हो भने पनि ३ प्रतिशत उपलब्धि हासिल गर्न सकिन्छ । हरित आर्किटेक्चर डिजाइन र निर्माण सामग्रीमा भर पर्ने हुँदा खर्चको हिसाबले अन्य घरभन्दा १० प्रतिशत मात्र सस्तो/महँगो पर्न जान्छ ।
चुनौती
हरित आर्किटेक्चर अवधारणा अपनाउनु निकै चुनौतीपूर्ण रहेको शहरी योजनाविद् पराजुली बताउँछन् । उनी भन्छन्, ‘यस्ता नयाँ अवधारणालाई आर्थिक अवस्थाले परिचालन गर्छ । यदि हरित अवधारणा आर्थिक रूपमा फाइदाजनक र आफू अनुकूल छैन भने कसैले पनि अनुसरण गर्न मान्दैन । यसको अनुसरण गर्न उत्प्रेरणा (इन्सेन्टिभ) चाहिन्छ । प्रेरित हुन आर्थिक कारण चाहिन्छ । त्यसैले हरित अवधारणा चुनौतीपूर्ण छ ।’
हरित आर्किटेक्चरको अवधारणा नयाँ भएकोले ठूलो चुनौती रहेको इन्जिनियर संग्रौला पनि स्वीकार्छन् । ‘करीब २०० वर्ष भन्दा लामो इतिहास बोकेको सिमेन्टका फाइदा/बेफाइदाबारे ग्राहकहरू जानकार छन्’ उनी भन्छन्, ‘तर, पर्यावरणमैत्री घरको डिजाइन खोज्ने छिटपुट ग्राहकहरू आए पनि यो नितान्त नयाँ अवधारणा भएकोले ग्राहकलाई मनाउन गाह्रो छ । उनीहरूले थोरै पनि जोखिम मोल्न खोज्दैनन् ।’
यद्यपि, समय लागे पनि भविष्यमा हरित आर्किटेक्चर नै लागू हुनेमा संग्रौला विश्वस्त देखिन्छन् । उनी भन्छन्, ‘विगत तीन वर्षदेखि हरित आर्किटेक्चरको अवधारणा, जनचेतनामूलक कार्यक्रम, मापदण्ड, नीतिगत वकालत र कार्यान्वयनका लागि विज्ञ, प्रोफेसर र हामीहरूले प्रयास गरिरहेका छौं । तर आशा छ लामो समय लागे पनि हरित अवधारणाप्रति सबैले एकपटक सोच्ने छन् ।’
अनलाईनखर बाट साभार