वीरगञ्ज (पर्सा): बारास्थित यातायात व्यवस्था कार्यालय, कलैयाले चालु आर्थिक वर्षको वैशाखको पहिलो सातासम्ममा रु ७ करोड ३६ लाख ५७ हजार ६७५ राजस्व सङ्कलन गरेको छ।
कार्यालय प्रमुख अविन्दर दासका अनुसार, साउनदेखि माघको पहिलो सातासम्म रु ४ करोड ३० लाख, त्यसपछिका तीन महिनामा रु ३ करोड ६ लाख ५५ हजार राजस्व सङ्कलन भएको हो। उहाँले भन्नुभयो, “पछिल्ला महिनाहरूमा राजस्व सङ्कलन दर उत्साहजनक रूपमा बढिरहेको छ। कार्यालयको आन्तरिक सुशासन र सेवाप्रवाह सुधारिएपछि राजस्वमा उल्लेखनीय वृद्धि देखिएको छ।”
कार्यालयको तथ्याङ्कअनुसार, पछिल्ला तीन महिनामा प्रति महिना औसत रु १ करोड २ लाख राजस्व सङ्कलन हुँदै आएको छ।
मुख्य राजस्व श्रोतहरू:
चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबाट: रु ३ करोड ५४ लाख ४० हजार ५६
सवारीसाधन करबाट: रु ३ करोड ४० लाख ३९ हजार ९४३
यातायात क्षेत्रको आम्दानीबाट: रु ४० लाख ८४ हजार ५४०
प्रशासनिक सेवा शुल्कबाट: रु २५ हजार ५००
बेरुजु शीर्षकबाट: रु ६७ हजार ३३६
कार्यालयले चालु आर्थिक वर्षको अन्त्यसम्म करिब रु १० करोड राजस्व सङ्कलन हुने अनुमान गरेको छ।