Friday, August 7, 2026
Homeअर्थ र ब्यापारकरदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, आज पहिलो विजेता घोषणा हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, आज पहिलो विजेता घोषणा हुँदै

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उपहार छनोट गर्ने विधि र प्रणालीको नमुना प्रस्तुतीकरण गर्दै कार्यक्रमको अन्तिम तयारीबारे जानकारी गराएको हो।

विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार विजेताको घोषणा शुक्रबार गरिनेछ।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा नगदमा खरिद गरी आन्तरिक राजस्व विभागको वेबसाइटमा प्यान वा भ्याट बिल अपलोड गरेका उपभोक्ता उपहार कार्यक्रममा सहभागी हुनेछन्।

यस अवधिको प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपछि जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, यही अवधिमा वस्तु तथा सेवा खरिद गरेका सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ। विभागका अनुसार बम्पर उपहारमा भने प्रचलित कानुनअनुसार कर लाग्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) उपहार विजेताको घोषणा गरिनेछ।

बैंक वा डिजिटल वालेटको क्यूआर कोड प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। यद्यपि, उपहार दाबी गर्न खरिदको बिल सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

नगदमा खरिद गर्ने उपभोक्ताले भने अनिवार्य रूपमा प्यान वा भ्याट बिल मागी आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरेर सहभागिता कुपन प्राप्त गरेपछि मात्रै उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका