Saturday, January 18, 2025
Homeमनोरन्जनकथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ: गायक प्रकाश सपूत बहुआयामिक प्रतिभाका धनी हुनुहुन्छ। उहाँ गायक मात्र नभई सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा पनि परिचित हुनुहुन्छ। आफ्ना कथाहरू गीत र श्रव्यदृश्यमार्फत व्यक्त गर्दै आउनुभएका सपूतले अहिले चलचित्र निर्माणमा पनि पाइला चाल्नुभएको छ। चलचित्रमा पनि उहाँको बहुपक्षीय भूमिका देख्न पाइनेछ।

यति धेरै भूमिका निभाउन कठिनाइ त पक्कै हुन्छ। यस जिज्ञासामा सपूतले भविष्यमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिनुभएको छ। शनिबार साँझ दरबारमार्गस्थित एक चलचित्र भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र वसन्तको पहिलो गीत साँझ पर्यो झमक्कै सार्वजनिक गर्नुभएको थियो।

उहाँले भन्नुभयो, “आफैले सबै जिम्मेवारी वहन गर्दा कठिनाइ भोग्नुपर्‍यो। विशेषगरी निर्देशन र अभिनयलाई एकसाथ सम्हाल्दा ऊर्जा बाँडिएको महसुस भयो। त्यसैले, आगामी चलचित्रमा यदि मैले निर्देशन गरेँ भने आफ्ना दृश्यहरू कम गर्नेछु। नत्र, निर्देशनको जिम्मा सुनिल विकलाई दिनेछु र अभिनयमा मात्र केन्द्रित हुने योजना छ। मेरो पछिल्ला कामभन्दा गुणस्तरमा कमी नआओस् भन्ने प्रयास सधैँ हुनेछ।”

गायक सपूतले अभिनय र निर्देशन दुवै गर्ने अनुभवका लागि निश्चल बस्नेत र अर्पण थापालगायतसँग परामर्श लिएको बताउनुभयो। गायनमा व्यस्त हुँदाहुँदै चलचित्र निर्देशनमा प्रवेश गर्नुको कारणबारे उहाँले भने, “गीतमार्फत आफ्ना कथा सुनाउँदै आएको थिएँ। तर ती कथा गीतमै सीमित राखूँ कि भन्ने लाग्यो। त्यसैले, चलचित्र बनाउने निर्णय गरेँ। यो चलचित्र मध्यमवर्गीय युवाहरूको संघर्षको कथा हो।” उहाँले चलचित्रमा आफ्ना व्यक्तिगत भोगाइहरूको झल्को भए पनि यो पूर्णतः आत्मकथा भने नभएको स्पष्ट पार्नुभयो।

अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई नयाँ कलाकारजस्तो नलागेको बताउँदै, “उहाँको काममा परिपक्वता देखियो। शान्ति नामक पात्रमा अभिनय गर्न पाउनु मेरो लागि विशेष अवसर हो, यो मेरो सम्झनामा सधैँ रहिरहने भूमिका हो,” भन्नुभयो।

सार्वजनिक साँझ पर्यो झमक्कै गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ। चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय रहेको छ।

आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायका एक युवाको लेखक बन्ने सपनालाई प्राप्त गर्न गरेको सङ्घर्षलाई चलचित्रको मूल कथावस्तु बनाइएको निर्माण पक्षले जनाएको छ। यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका