Thursday, July 2, 2026
Homeअन्तराष्ट्रियएम्पायर स्टेटको टावरमा चढेर विवाह प्रस्ताव राख्ने जोडी पक्राउ

एम्पायर स्टेटको टावरमा चढेर विवाह प्रस्ताव राख्ने जोडी पक्राउ

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित प्रतिष्ठित एम्पायर स्टेट बिल्डिङको प्रतिबन्धित एन्टेना टावरमा अनधिकृत रूपमा चढेर विवाहको प्रस्ताव राख्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार भएको घटनामा रुसी मूलका एन्जेला निकोलाउ (३३) र इभान कुज्नेत्सोभ (३२) लाई प्रहरीले हिरासतमा लिएको हो। उनीहरू बिना सुरक्षा उपकरण भवनको करिब १,४५४ फिट (४४३ मिटर) उचाइमा रहेको सञ्चार टावरमा पुगेका थिए।

उनीहरूले टावरमा विश्व शान्तिको सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। त्यसपछि सानो प्लेटफर्ममा उभिएर इभानले घुँडा टेकेर एन्जेलालाई विवाहको प्रस्ताव राखेका थिए। एन्जेलाले प्रस्ताव स्वीकार गरेपछि दुवैले एकअर्कालाई अँगालो हाल्दै खुसी साटासाट गरेका थिए।

उक्त दृश्यको भिडियो र तस्बिर उनीहरूले सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन्। यो जोडी अग्ला भवनमा बिना सुरक्षा उपकरण चढ्ने ‘रुफटपर’का रूपमा परिचित छ र उनीहरू सन् २०२४ मा सार्वजनिक भएको नेटफ्लिक्सको वृत्तचित्र Skywalkers: A Love Story मा पनि देखिएका थिए।

घटनापछि न्युयोर्क प्रहरीको आपतकालीन उद्धार टोली र हेलिकप्टर परिचालन गरिएको थियो। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आसपासका केही सडकसमेत अस्थायी रूपमा बन्द गरिएको थियो।

टावरबाट तल झरेलगत्तै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार प्रतिबन्धित क्षेत्रमा अनधिकृत प्रवेश, आपराधिक घुसपैठ, चोरीसम्बन्धी कसुर तथा सर्वसाधारणको सुरक्षामा जोखिम उत्पन्न गरेको आरोपमा उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका