Friday, July 10, 2026
Homeराजनीतिएमाले शुद्धीकरण कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, बादल र पोखरेललाई जिम्मेवारी

एमाले शुद्धीकरण कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, बादल र पोखरेललाई जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशभरबाट संकलित सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरू समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ। प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्वसमक्ष पेश गरिने तयारी गरिएको उनले बताए।

निर्वाचनपछिको समीक्षा, पार्टीलाई थप सशक्त बनाउने तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले देशभरका नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन गरेको थियो।

कार्यदलका अनुसार प्राप्त सुझावहरू पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व विकास, कार्यशैली सुधार तथा जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा केन्द्रित रहेका छन्।

बैठकले सुझाव संकलन अभियान सफल बनाउन सहयोग गर्ने प्रदेश, जिल्ला तथा सम्बन्धित पार्टी कमिटीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै अभियानमा सक्रिय सहभागिता जनाउँदै रचनात्मक सुझाव दिने नेता–कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

एमालेले देशभरबाट प्राप्त सुझावहरू पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै प्रतिवेदनका आधारमा पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाइने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका