काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको सोमबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलगायत अन्य प्रतिवेदनमाथि छलफल भएको छ।
पार्टी कार्यालय च्यासलमा बैठकको दोस्रो दिन सदस्यहरूले अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा धारणा व्यक्त गरेका थिए। उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार, सदस्यहरूले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने, र पार्टीलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने सुझाव दिएका छन्।
सदस्यहरूले अनुशासनहीनता अन्त्य गर्न जोड दिँदै नयाँ समीकरण बनेपछि सरकारले लक्ष्यअनुसार प्रभावकारी रूपमा काम गर्नुपर्ने धारणा राखेका थिए। साथै, संविधान संशोधन गरी हालका अधिकारलाई थप बलियो बनाउने सुझावसमेत सदस्यहरूले दिएका छन्।
उपमहासचिव गुरुङले वर्तमान सरकारले देश र जनताको हितमा काम गरिरहेको उल्लेख गर्दै अहिलेसम्म भएका समस्या पहिचान गरिएको जानकारी दिए।
राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ अध्यक्ष ओलीले दिनेछन्। समसामयिक प्रस्ताव पारित गर्दै बैठक मंगलबार समापन हुने एमालेले जनाएको छ।