महोत्तरी: देशका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएको खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रीजले भने समयमै भुक्तानी उपलब्ध गराउँदै आएको छ।
चालू क्रसिङ सिजनमा उद्योगले पुसको तेस्रो सातासम्ममा पाँच पटक गरेर किसानलाई कुल ४५ करोड ६४ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार, मंसिर २६ गतेदेखि उखु क्रसिङ सुरु गरेयता शनिबारसम्म आठ लाख ४५ हजार ७० क्विन्टल उखुको भुक्तानी गरिएको छ।
यस वर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ, जुन गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो। यसपटक सरकारले उखु क्रसिङ सुरु हुनु अघि नै मूल्य निर्धारण गरेपछि भुक्तानी प्रक्रिया झनै सहज भएको शुक्लाले बताए। सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५८५ रुपैयाँ तोकेको छ, जुन गत वर्षको तुलनामा २० रुपैयाँले बढी हो। साथै, किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णयले पनि राहत मिलेको छ।
समयमै भुक्तानी पाएपछि किसानहरू राहत महसुस गरिरहेका छन्। उखु उत्पादक किसान संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार, चार वर्षअघिसम्म भुक्तानीका लागि लामो समय कुर्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ। “भुक्तानी प्रक्रिया सहज बनाइएको छ, तर मूल्यमा किसानले अझै उचित न्याय पाउन सकेका छैनन्,” कुशवाहाले भने। किसानहरूले यसपटक प्रतिक्विन्टल मूल्यमा १५ प्रतिशत वृद्धि माग गरेका भए पनि सरकारले मात्र २० रुपैयाँ थपेकोमा असन्तोष व्यक्त गर्दै उनले पुनर्विचारका लागि आग्रह गरे।
भुक्तानी प्रक्रिया सहज हुँदै जाँदा जिल्लामा उखुखेतीको क्षेत्रफल पनि विस्तार हुँदै गएको छ। १५ वर्षअघि १५ हजार बिघामा फैलिएको उखुखेती भुक्तानी झमेलाका कारण २०७७/७८ सम्ममा पाँच हजार बिघामा सीमित भएको थियो। यद्यपि, पछिल्ला वर्षहरूमा सहज भुक्तानी व्यवस्थाका कारण खेती विस्तार हुँदै यो सिजनमा नौ हजार बिघामा पुगेको जनाइएको छ।