तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले युद्धमा भएको क्षतिको क्षतिपूर्तिसहित तेहरानले अघि सारेका सबै सर्त पूरा नगरेसम्म रणनीतिक हर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ ।
रिभोलुसनरी गार्ड्सले आइतबार जारी गरेको वक्तव्यमा शत्रु पक्षले इरानका सबै सर्त स्वीकार नगरेसम्म हर्मुज जलमार्ग बन्द रहने जनाएको छ । इरानले अहिले उक्त जलमार्गलाई सामान्य व्यापारिक मार्गका रूपमा नभई युद्धको मैदानका रूपमा लिएको पनि वक्तव्यमा उल्लेख छ ।
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि तेहरानले हर्मुज जलमार्गमा प्रभावकारी नाकाबन्दी लगाएको दाबी गरिएको छ । इरानले जलमार्गबाट हुने यातायातमा कर उठाउने तथा आफ्नो स्वीकृतिबिना मार्ग प्रयोग गर्ने वा मार्ग छल्ने प्रयास गर्ने जहाजमाथि आक्रमण जारी राखेको बताइएको छ ।
युद्धअघि अन्तर्राष्ट्रिय व्यापारका लागि स्वतन्त्र रूपमा प्रयोग हुँदै आएको हर्मुज जलमार्गमा जारी तनावका कारण अप्रिलमा भएको युद्धविराम सम्झौता भङ्ग भएको बताइएको छ । अहिले मध्यस्थकर्ताहरूले शान्ति वार्ताका लागि जुन महिनामा भएको समझदारीका सर्तमा फर्कन दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।
क्षतिपूर्ति र प्रतिबन्ध हटाउनुपर्ने माग
इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग यातायात तथा हर्मुज जलमार्गको व्यवस्थापनबारे भइरहेको छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । तर जलमार्ग पुनः खोल्ने विषय अन्य सर्त तथा सम्झौता उल्लङ्घनबाट भएको क्षतिको क्षतिपूर्तिसँग जोडिएको उनले स्पष्ट पारेका छन् ।
इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ता भइरहेको भन्ने दाबीलाई भने अराघचीले अस्वीकार गरेका छन् । उनका अनुसार दुवै पक्षबीच मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान मात्र भइरहेको छ ।
यसअघि शनिबार इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज जलमार्ग पुनः खोल्नुअघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गरेका थिए ।
तस्निम न्युज एजेन्सीका अनुसार इरानका प्रमुख मागमा इरान तथा उसका सहयोगी राष्ट्रहरू लेबनान, प्यालेस्टाइन, यमन र इराकविरुद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने, अमेरिकी प्रतिबन्ध तथा प्रतिनाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने विषय छन् ।
त्यस्तै, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसमेत इरानले अघि सारेको छ ।
हर्मुजमा व्यापारिक जहाजमाथि आक्रमण जारी
तनावका कारण हर्मुज जलमार्गमा व्यापारिक जहाजको आवागमन उल्लेख्य रूपमा घटेको छ । इरानी जलक्षेत्र हुँदै अघि बढ्न खोज्ने केही जहाजलाई लक्षित गरी आक्रमण भइरहेको बताइएको छ ।
शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयले अबु धाबी नेसनल आयल कम्पनी (एडनोक)सँग सम्बन्धित एक तेल ट्याङ्करमाथि हर्मुज जलसन्धिमा मिसाइल प्रहार भएको भन्दै इरानको कडा निन्दा गरेको छ । घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।
यस्तै, बेलायतको मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) ले ओमाननजिकै हर्मुज जलमार्गमा अर्को एउटा जहाजमा प्रक्षेपास्त्र लागेर आगलागी भएको जनाएको छ । आगो तत्काल नियन्त्रणमा लिइएकाले मानवीय क्षति नभएको बताइएको छ ।
तर युएई र बेलायती अधिकारीहरूले उल्लेख गरेका दुवै घटना एउटै जहाजसँग सम्बन्धित हुन् वा छुट्टाछुट्टै जहाजमाथि भएका आक्रमण हुन् भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।
हर्मुज जलमार्ग विश्वको प्रमुख ऊर्जा तथा व्यापारिक मार्गमध्ये एक भएकाले यसको लामो समयसम्मको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, तेलको मूल्य र विश्व अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्न सक्ने चिन्ता बढेको छ।


