काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्नेछन् भन्ने जानकारी एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिनुभएको छ।
“हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि विचार व्यक्त गर्नुहुनेछ,” गौतमले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यहरूको रायसहितको निष्कर्ष प्रस्तुत गरिनेछ।”
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो। प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसक्नुभएको थियो।