Tuesday, September 22, 2026
Homeसामाचारअसोज ९ देखि भारी वर्षा र हिमपातको सम्भावना, गृहमन्त्रीसहित उच्च अधिकारीद्वारा पूर्वतयारीको...

असोज ९ देखि भारी वर्षा र हिमपातको सम्भावना, गृहमन्त्रीसहित उच्च अधिकारीद्वारा पूर्वतयारीको अनुगमन

काठमाडौं । असोज ९ गतेदेखि देशभर भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम विभागको पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्भावित जोखिम र पूर्वतयारीबारे जानकारी लिएका छन्।

उनीहरू बबरमहलस्थित मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत अधिकारीसँग छलफल गरेका हुन्। छलफलमा सम्भावित मौसमजन्य जोखिम, पूर्वतयारी तथा विपद् प्रतिकार्यका विषयमा जानकारी लिइएको थियो।

मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली हुँदै ‘डिप डिप्रेसन’मा परिणत भएको छ। उक्त प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।

उत्तर अण्डमान सागर आसपास विकसित उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ। यसको प्रभावका कारण बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षा हुने सम्भावना छ। मधेश, कोशी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण बाढी, डुबान, कटान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। विभागले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा जोखिमको समयमा अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरेको छ।

मौसम विभागको विशेष बुलेटिनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

प्राधिकरणले असोज ९ देखि ११ गतेसम्म अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा सुरक्षा निकाय र स्वयंसेवकलाई सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका