वासिङ्टन डीसी । अमेरिका र इन्डोनेशियाबीच अतिरिक्त भन्सार महसुल (ट्यारिफ) कटौती गर्ने महत्वपूर्ण व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार इन्डोनेशियामाथि लाग्दै आएको अमेरिकी आयात शुल्क ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशतमा झारिएको छ।
यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोबीच सम्पन्न भएको हो। ह्वाइट हाउसका अनुसार इन्डोनेशियाले अमेरिकी वस्तुहरूको ९९ प्रतिशतभन्दा बढीमा व्यापार अवरोध हटाउने प्रतिबद्धता जनाएको छ। यसमा कृषि, स्वास्थ्य सेवा, समुद्री उत्पादन, प्रविधि तथा अटोसम्बन्धी सामग्री समावेश छन्।
त्यसैगरी, अमेरिकाले पनि केही इन्डोनेशियाली वस्तुहरूमा शुल्क छुट दिएको छ। विशेष गरी अमेरिकी कपास वा कृत्रिम रेशाबाट बनेका लुगा तथा कपडामा सहुलियत प्रदान गरिएको जनाइएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले उक्त सम्झौताले व्यापार अवरोध हटाउँदै अमेरिकी आर्थिक हितलाई सुदृढ बनाउने बताएका छन्।
सम्झौताअनुसार इन्डोनेशियाले अमेरिकी सवारीसाधन सुरक्षा तथा उत्सर्जन मापदण्ड स्वीकार गर्नेछ। साथै, चिकित्सा उपकरण र औषधि उत्पादनका हकमा अमेरिकी खाद्य तथा औषधि सम्बन्धी मापदण्ड लागू गरिनेछ।
यसका अतिरिक्त, इन्डोनेशियाले अमेरिकी कृषि तथा प्रविधि उत्पादनलाई आफ्नो बजारमा सहज प्रवेश दिने प्रतिबद्धता जनाएको छ। राष्ट्रपति सुबियान्तोको वासिङ्टन भ्रमणका क्रममा उक्त व्यापार सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिएको जनाइएको छ।


