Saturday, July 25, 2026
Homeअर्थ र ब्यापारअनलाइन बेटिङविरुद्ध सरकारको कडा कदमः २.२३ लाखभन्दा बढी वेबसाइट र एप बन्द

अनलाइन बेटिङविरुद्ध सरकारको कडा कदमः २.२३ लाखभन्दा बढी वेबसाइट र एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ।

गत चैत १३ गते सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार अनलाइन सट्टेबाजी र डिजिटल ठगी नियन्त्रण गर्ने अभियानअन्तर्गत यो कदम चालिएको हो। कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्ता वेबसाइट र एप २४ घण्टाभित्र बन्द गराउने जिम्मेवारी दिइएको थियो।

प्राधिकरणका अनुसार प्रारम्भिक चरणमा धेरै सट्टेबाजी वेबसाइट बन्द गरिए पनि नयाँ नाम र डोमेन प्रयोग गरी पुनः सञ्चालनमा आउने क्रम बढेपछि निगरानी थप कडा बनाइएको हो। विशेषगरी फिफा विश्वकपको समयमा यस्ता बेटिङ एपको प्रयोग बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोमा विशेष कार्यदल (टास्क फोर्स) गठन गरी कारबाहीलाई तीव्र बनाइएको थियो।

कार्यदलका सदस्य तथा दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूसँग समन्वय गरी अनलाइन बेटिङ र अवैध वित्तीय कारोबारमा प्रयोग भएका यूआरएलहरू पहिचान गरेर ब्लक गरिएको हो।

उनका अनुसार एउटा वेबसाइट बन्द गरेलगत्तै नयाँ डोमेनमा अर्को वेबसाइट सञ्चालनमा आउने प्रवृत्ति रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी यस्ता गतिविधिको निरन्तर अनुगमन र पहिचान भइरहेको छ।

दूरसञ्चार प्राधिकरणले यस्ता अवैधानिक वेबसाइट वा मोबाइल एपबारे जानकारी भएमा सर्वसाधारणलाई NTA-OPM को गिटहब पृष्ठमार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका