काठमाडौं, २८ असार । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुज अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको इरानको घोषणापछि अमेरिका–इरानबीचको तनाव थप चुलिएको छ।
अमेरिकाले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै यस साताको तेस्रो चरणको हवाई सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार उक्त आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने चालकदलका एक सदस्य बेपत्ता भएका छन्।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानले “गलत निर्णय” गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले स्वीकृत समुद्री मार्ग छाडेर अघि बढेको जहाजलाई पटक–पटक चेतावनी दिँदा अटेर गरेपछि मिसाइल प्रहार गरिएको दाबी गरेको छ। साथै, अमेरिकाले कुनै पनि सैन्य हस्तक्षेप गरे कडा जवाफ दिइने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू पनि निशानामा पर्न सक्ने चेतावनी इरानले दिएको छ।
यसअघि पनि खाडी क्षेत्रमा व्यापारिक तेल ट्यांकरमाथि भएका आक्रमणपछि अमेरिकाले इरानमाथि सैन्य कारबाही गरेको थियो। इरानी अधिकारीहरूका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका थिए। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। यद्यपि उनले कूटनीतिक वार्ता जारी रहेको र मध्यस्थकर्तामार्फत संवाद पुनः सुरु गर्ने प्रयास भइरहेको बताएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले मध्यस्थकर्तामार्फत व्यापारिक जहाजमाथिको आक्रमण “गल्तीवश” भएको सन्देश पठाएको दाबी गरिएको छ। यद्यपि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले राष्ट्रलाई सम्बोधन गर्दै अमेरिका र इजरायलविरुद्ध “बदला लिने” चेतावनी दिएका छन्। उता, अमेरिकी राष्ट्रपति ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमणको प्रयास भए इरानलाई “पूर्ण विनाशकारी जवाफ” दिइने चेतावनी दिएका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूले इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको गुप्त सूचना इजरायलले वासिङ्टनलाई उपलब्ध गराएको दाबी गरेका छन्। तर, उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
स्रोत: बीबीसी


