Thursday, September 10, 2026
Homeअन्तराष्ट्रियहुथी विद्रोहीद्वारा यमनको रणनीतिक बन्दरगाह मोचा कब्जा

हुथी विद्रोहीद्वारा यमनको रणनीतिक बन्दरगाह मोचा कब्जा

काठमाडौं । इरान समर्थित हुथी विद्रोहीहरूले यमनको लाल सागरस्थित महत्त्वपूर्ण बन्दरगाह सहर मोचामाथि कब्जा जमाएको यमनी सरकारका तीन अधिकारीले पुष्टि गरेका छन्। मोचा बाब–अल–मन्देब जलडमरूमध्यबाट ५० माइलभन्दा कम दूरीमा अवस्थित छ।

बिहीबार बिहान यमनी सरकारी सुरक्षा बलहरू सहरबाट पछि हटेको र हुथी लडाकुहरू मोचातर्फ अघि बढेको समाचार सार्वजनिक भएको थियो। सामाजिक सञ्जालमा पनि हुथी लडाकुहरू सहरभित्र प्रवेश गरेका तस्बिर तथा भिडियोहरू सार्वजनिक भएका छन्।

मोचामाथिको नियन्त्रणलाई हुथीहरूको रणनीतिक सफलता मानिएको छ। यसले लाल सागर र बाब–अल–मन्देब क्षेत्र आसपास उनीहरूको प्रभाव थप बलियो बन्न सक्ने आकलन गरिएको छ।

यद्यपि, हुथीविरुद्ध लडिरहेको ‘नेसनल रेजिस्टन्स फ्रन्ट’ले आफ्ना एक कमान्डर सैन्य टोलीसहित बिहीबार बिहान मोचा प्रवेश गरेको जनाएको छ। उक्त संगठनले विरोधी–हुथी गठबन्धनसँगको सहकार्यमा सहरको सुरक्षा व्यवस्था पुनः व्यवस्थित तथा सुदृढ गर्ने काम भइरहेको बताएको छ। संगठनका अनुसार उसका फौज र हुथी नौसैनिक बलबीच पनि भिडन्त भएको छ।

यमनी सरकारका चार सैन्य स्रोतका अनुसार हुथीहरू बाब–अल–मन्देब जलडमरूमध्यमा आफ्नो प्रभाव विस्तार गर्ने दिशामा अघि बढिरहेका छन्। विश्वकै प्रमुख समुद्री व्यापारिक मार्गमध्ये एक मानिने यो जलडमरूमध्य नजिकै मोचा र धुबाबजस्ता तटीय सहरहरू रहेका छन्। हुथीहरूले ती क्षेत्रमा आफ्नो नियन्त्रण बलियो बनाउने प्रयास गरिरहेको बताइएको छ।

बाब–अल–मन्देब लाल सागरको दक्षिणी प्रवेशद्वार हो। यसले यमनलाई अफ्रिकी मुलुक जिबुटी र इरिट्रियाबाट छुट्याउँछ। खाडी मुलुकबाट भूमध्यसागरतर्फ जाने कच्चा तेल तथा इन्धन र एसियातर्फ ओसारपसार हुने ठूलो परिमाणको व्यापारिक सामान यही समुद्री मार्गबाट आवतजावत गर्छ।

पछिल्ला दिनमा हुथी र साउदी अरब समर्थित यमनी सरकारी बलबीचको द्वन्द्व पनि तीव्र बनेको छ। सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले यमनमा लामो समयदेखि जारी द्वन्द्वलाई धेरै हदसम्म नियन्त्रणमा ल्याएको थियो। तर पछिल्लो घटनाक्रमले उक्त युद्धविराम कमजोर बन्दै गएको संकेत गरेको छ।

हुथीहरूले बुधबार साउदी अरबले यमनका जौफ, मारिब र सादा प्रान्त तथा ताइज र लाल सागर किनारमा रहेको अल–हुदैदाहमा आक्रमण गरेको दाबी गरेका थिए। साउदी अरबले भने ती आक्रमणको पुष्टि गरेको छैन।

यसैबीच, साउदी अरबको खमिस मुसैतमा बिहीबार २४ घण्टाभित्र चौथोपटक आपत्कालीन चेतावनी जारी गरिएको छ। साउदी नेतृत्वको गठबन्धनका अनुसार हालैका हुथी आक्रमणमा देशका चार दक्षिणी सहरमा कम्तीमा ७३ जना घाइते भएका छन्। हुथीहरूले खमिस मुसैतस्थित एयरबेस तथा आसपासका तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका