Sunday, April 19, 2026
Homeकला/साहित्य‘हराएको कुकुर’: राज्यकाे संरचनागत अन्यायमाथि घोचिलो प्रश्न उठाउने नाटक मञ्चन हुँदै

‘हराएको कुकुर’: राज्यकाे संरचनागत अन्यायमाथि घोचिलो प्रश्न उठाउने नाटक मञ्चन हुँदै

खोटाङ, २० असार: सामाजिक तथा राजनीतिक सन्देश बोकेको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चनमा आउने भएको छ। चर्चित रंगकर्मी मणि कुलुङ राईको कथा तथा निर्देशनमा तयार पारिएको यो नाटक साउन ४ गतेसम्म मण्डला थियटर, थापागाउँ, काठमाडौँमा मञ्चन गरिनेछ।

खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानीलाई कर्मभूमि बनाउँदै रंगमञ्चमा सक्रिय रहनुभएका कुलुङले निर्देशन गर्नुभएको यो नाटक सोमबार बाहेक हरेक दिन साँझ ४ बजे मञ्चन हुनेछ भने शुक्रबार, शनिबार र आइतबार थप रूपमा मध्यान्ह १२ बजे पनि देखाइने तयारी गरिएको छ।

निर्देशक कुलुङका अनुसार ‘हराएको कुकुर’ एक रूपकात्मक नाटक हो, जसले राज्य संरचनामा विद्यमान अन्याय, अनुसन्धान प्रणालीको पक्षपात, र नागरिक आवाजमाथिको दमनजस्ता मुद्दाहरूलाई उजागर गर्छ। “यो नाटक एक सामान्य खोजीको कथा मात्र होइन,” कुलुङले भन्नुभयो, “यो सत्ताको आलोचना गर्ने, नागरिक चेतना झकझक्याउने र संरचनागत अन्यायलाई गहिरो रूपमा प्रश्न गर्ने नाट्य प्रस्तुति हो।”

नाटकको कथा कुकुर हराएको सामान्य घटनाबाट सुरु भएर गम्भीर राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ। कथाको उत्कर्षमा कुकुर फेला पर्छ, तर मुख्य प्रश्नहरू भने अनुत्तरित नै रहन्छन्, जसले दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास गरिएको छ।

नाटकलाई रवीन तामाङले नाट्य रूपान्तरण गर्नुभएको हो। अभिनयमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, साथै अबिनास डिएम, मीना श्रेष्ठ, मणि कुलुङ, सुनिल बाहिङ राईको पनि प्रस्तुति रहनेछ।

नेपथ्यतर्फ ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ, र प्रकाश परिचालनमा सुनिल बाहिङ राईको योगदान रहने जनाइएको छ। अन्य भूमिकामा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बू, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायत कलाकारहरूको समेत सहभागिता रहनेछ।

मण्डला थियटरले नाटकको ट्रेलर सार्वजनिक गरिसकेको छ। पाँच वर्षदेखि राजधानीमा निरन्तर रंगमञ्चमा सक्रिय निर्देशक कुलुङले यसअघि ‘मृत्यु कुण्ड’ नामक नाटक निर्देशन गरिसक्नुभएको छ भने खुवालुङ, दमिनीभिर, ताप, विम्बको सपना, रामप्रसाद राईजस्ता चर्चित नाटकहरूमा अभिनय पनि गरिसक्नुभएको छ।

‘हराएको कुकुर’ ले दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका