Tuesday, July 14, 2026
Homeअर्थ र ब्यापारसेबोनको नयाँ नीति : सामाजिक सञ्जालमा शेयर सल्लाह दिने ‘फिन्फ्लुएन्सर’ माथि कडा...

सेबोनको नयाँ नीति : सामाजिक सञ्जालमा शेयर सल्लाह दिने ‘फिन्फ्लुएन्सर’ माथि कडा निगरानी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामाजिक सञ्जालमार्फत शेयर बजारलाई प्रभावित पार्ने गतिविधिमाथि कडा निगरानी गर्ने तथा लगानीकर्ताको कारोबार लागत घटाउने नीति अघि सारेको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा प्राथमिकता अन्तर्गत बोर्डले पूँजी बजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित विभिन्न सुधारका कार्यक्रम घोषणा गरेको हो।

बोर्डका प्रवक्ता निरजय घिमिरे द्वारा जारी प्रेस विज्ञप्तिअनुसार पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई वित्तीय विज्ञका रूपमा प्रस्तुत गर्दै शेयर बजारबारे अनधिकृत लगानी सल्लाह दिने ‘फिन्फ्लुएन्सर’ हरूको गतिविधि बढेकाले उनीहरूमाथि प्रभावकारी नियामकीय निगरानी गरिनेछ। साथै, भ्रामक प्रचार, अनधिकृत लगानी परामर्श तथा वित्तीय ठगीविरुद्ध कडा कदम चालिने बोर्डले जनाएको छ।

त्यसैगरी, कुनै पनि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति नलिई सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट पूँजी संकलन गर्ने गैरकानुनी गतिविधिलाई पनि नियमनको दायरामा ल्याइने भएको छ।

लगानीकर्तालाई राहत दिने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्क पुनरावलोकन गरी कारोबार लागत घटाइने बोर्डले जनाएको छ।

यसका साथै, हालको नेप्से सूचकाङ्कलाई ‘अल इक्विटी इन्डेक्स’ का रूपमा यथावत् राख्दै, बजारमा वास्तविक कारोबारयोग्य फ्रि–फ्लोट शेयर का आधारमा नयाँ बेन्चमार्क सूचकाङ्क विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

बोर्डले अबदेखि सार्वजनिक निष्कासनको अनुमति दिनुअघि कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय पक्षको वस्तुनिष्ठ अध्ययन गरेर मात्र स्वीकृति दिने स्पष्ट पारेको छ।

त्यस्तै, मार्जिन कारोबार पूर्ण रूपमा कार्यान्वयन गर्न देखिएका अवरोध हटाउन बोर्ड, नेपाल राष्ट्र बैंक, नेप्से, सिडिएससी र ब्रोकरहरूबीच समन्वय गरी छिट्टै सञ्चालनको व्यवस्था मिलाइने जनाएको छ।

नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्दै राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने लक्ष्यसहित ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्ययोजना पनि छिट्टै सार्वजनिक गरिने बोर्डले जनाएको छ।

बोर्डका अन्य प्रमुख प्राथमिकताः

  • धितोपत्रसम्बन्धी कसुरको छानबिनका लागि अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने।
  • शेयरको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लक–इन अवधि पुनरावलोकन गर्ने।
  • अडलट (Odd Lot) कारोबारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने।
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका