सुर्खेत। बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको शव आफन्तले नबुझ्दा ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको हत्या प्रकरणमा दोषीलाई कारबाही हुने सुनिश्चित वातावरण नबनेसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्। आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली वीरेन्द्रनगर पुगेको छ। टोलीले थप प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ।
पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको छ। जबरजस्ती करणीका क्रममा संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्राव भई मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले जानकारी दिएका छन्।
प्रहरी नियन्त्रणमा रहेका इनिशाका प्रेमी भनिएका युवकले भने सहमतिमै यौन सम्पर्क भएको र त्यसपछि अचानक इनिशा बेहोस भएको बयान दिएका छन्। उनले विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको र घटनाको दिन पनि दुवैको सहमतिमा शारीरिक सम्पर्क भएको बताएका छन्। सम्पर्कपछि यौनाङ्गबाट रगत आएपछि इनिशा बेहोस भएर ढलेको उनको दाबी रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।
घटनापछि सहयोगका लागि साथीहरूलाई बोलाएको र तीन जनासँग सहयोग मागेको पनि उनले बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ।
फागुन २३ गते इनिशा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। सुर्खेतको गुर्भाकोट–बडाखाली घर भएकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्।
घटनाको दिन शनिबार बिहान ‘प्रयोगात्मक कक्षा’ छ भन्दै घरबाट निस्किएकी उनी बिहान ८ बजेसम्म फर्किने बताएकी थिइन्। तर ९ बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।


