काठमाडौं: सशस्त्र प्रहरी बलको डिआइजी बढुवा प्रक्रियामा फेरि राजनीतिक हस्तक्षेप देखिएको छ। हालै सम्पन्न बढुवामा सिनियर अधिकारीहरूलाई बेवास्ता गर्दै जुनियर एसएसपी दीपेन्द्र कुँवर र विष्णु भट्टलाई सिफारिस गरिएको छ, जसले निष्पक्षताको प्रश्न उठाएको छ।
बढुवा सिफारिसको निर्णय बिहीबार राति लिइएको थियो, जसमा अघिल्लो ब्याचका योग्य अधिकृतहरूलाई पन्छाइएर दीपेन्द्र कुँवर, कृष्ण ढकाल, र विष्णुप्रसाद भट्टलाई अगाडि सारिएको छ। सशस्त्र प्रहरीमा राजनीतिक प्रभावका आधारमा निर्णय लिने प्रवृत्ति नयाँ होइन, तर यसपटक बढुवामा सिनियर अधिकृतहरूलाई बाइपास गरिनु संगठनभित्र नै विवादको विषय बनेको छ।
सूत्रहरूका अनुसार कुँवरलाई बढुवा गराउन सत्ता पक्षबाट विशेष दबाब परेको थियो। गृह मन्त्रालयले बढुवा समितिमार्फत अघिल्लो ब्याचका पाँच जना अधिकारीलाई पछि पार्दै कुँवर र भट्टलाई अघि बढाएको छ। “बढुवाको मापदण्डको पालना नभएर संगठनभित्र असन्तुष्टि चुलिएको छ,” एक अधिकारीले बताए।
बढुवा प्रक्रियामा प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले पनि शक्ति केन्द्रको दबाब सामना गर्न सकेनन्। यसपटकको बढुवामा सशस्त्र प्रहरीकै दोस्रो ब्याचका अधिकृतहरूलाई प्राथमिकता दिइएको देखिन्छ, जसले संगठनभित्रका अन्य सिनियर अधिकृतहरूलाई असन्तुष्ट बनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक बेसिकमा ७४ औं स्थानमा रहेका कुँवरका कारण बढुवा प्रक्रियामा अन्य सिनियर अधिकृतहरू प्रभावित भएका छन्। नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा आएका वरिष्ठ अधिकृत कृष्णराज पाठक, मनिष थापा, र प्रवीण कँडेल जस्ता योग्य अधिकारीहरू बढुवाबाट फेरि पछि परेका छन्।
कुँवरको बढुवा प्रक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकको दबाब रहेको बताइन्छ। कुँवर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन्। उनलाई अघि ल्याउन सशस्त्र प्रहरीको नियमावलीसमेत परिवर्तन गरिएको बताइन्छ।
सशस्त्र प्रहरीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य मानिन्छ। तर, कुँवरलाई विशेष व्यवस्था अन्तर्गत सेनामा कोटा दिइएको थियो, जबकि अर्का एसएसपी ढकालका लागि समेत नियम परिवर्तन गर्दै स्टाफ कलेज पास गर्न पाँच पटकसम्म अवसर दिइएको छ।
यसरी राजनीतिक हस्तक्षेपका कारण सशस्त्र प्रहरी बलभित्र बढुवाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठेको छ। संगठनभित्रको पेशागत मर्यादा जोगाउन निष्पक्ष मूल्यांकन प्रणालीको आवश्यकता रहेको सुरक्षा विश्लेषकहरू बताउँछन्।


