काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु जिल्ला समितिले जिल्लामा देखिएका विभिन्न समस्या, बेथिति तथा गैरकानुनी गतिविधि नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुगुलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
शुक्रबार रास्वपाका जिल्ला सभापति बिखबहादुर मल्ल नेतृत्वको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई भेटेर ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो।
ध्यानाकर्षण पत्रमार्फत सरकारी सवारीसाधनको भइरहेको दुरुपयोग तत्काल रोक्न, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा बढ्दो कालोबजारी, अनियन्त्रित मूल्यवृद्धि तथा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्रशासनसँग माग गरिएको छ।
त्यसैगरी जिल्लाभर देखिएका गैरकानुनी गतिविधि तथा अन्य बेथितिको नियमित अनुगमन गरी दोषीमाथि कडा कानुनी कारबाही अघि बढाउन पनि रास्वपाले माग गरेको छ।
रास्वपा मुगुका सभापति मल्लले जनताको दैनिक जीविकासँग जोडिएका समस्याप्रति स्थानीय प्रशासन गम्भीर र संवेदनशील हुनुपर्ने बताए। उनले सुशासन, पारदर्शिता र जनहितका पक्षमा आफ्नो पार्टी निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले रास्वपाले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै कानुनी प्रक्रियाअनुसार आवश्यक पहल तथा कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


