काठमाडौँ: सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। मङ्गलबार प्रतिपक्षी दलको विरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ।
त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुनेछ।
साथै, युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा मन्त्रीहरूबाट उत्तर दिने कार्यसूची पनि रहेको संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
अर्कोतर्फ, राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। त्यसमा पनि अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८०’ लाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
साथै, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या, र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूबाट उत्तर दिने कार्यसूची पनि रहेको छ।


