ताप्लेजुङ, १८ जेठ— नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्ने शक्तिहरूविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। संविधानलाई सङ्कटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले यस्ता गतिविधिको प्रतिवाद गर्न सबै पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।
मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले समावेशी अधिकारसहितको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा बनेको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
“समाजमा अराजकता मच्चाउन चाहने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा असह्य बनेको छ,” उहाँले भन्नुभयो, “जनजाति, दलित, महिला लगायतका समुदायले पाएका संवैधानिक अधिकारहरू नस्वीकार्ने ती शक्तिहरू संविधान संशोधनको नाममा विद्यमान व्यवस्था नै धरापमा पार्ने षड्यन्त्रमा छन्।”
राजावादी प्रवृत्तितर्फ सङ्केत गर्दै उहाँले अब संविधानको संरक्षणका लागि स्पष्ट सोच र बुलन्द आवाज आवश्यक रहेको बताउनुभयो। “नेपाली कांग्रेस दलित, महिला र जनजातिका अधिकारहरूको रक्षा गर्न प्रतिबद्ध छ,” उहाँले जोड दिनुभयो।
पार्टी नेतृत्वमा रहेका व्यक्तिबाट साना-ठूला त्रुटि हुनसक्ने स्वीकार गर्दै नेता महरले त्यसका आधारमा सिङ्गो पार्टीलाई दोष दिन नहुने स्पष्ट पार्नुभयो। स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले समावेशी विकास र आर्थिक समानतालाई कांग्रेसको मुख्य प्राथमिकता बताउनुभयो।
लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा थप सुदृढ गर्न कांग्रेस कार्यकर्ताबीच एकता, ऐक्यबद्धता र प्रतिबद्धता आवश्यक रहेको उहाँको धारणा थियो।


