काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त अरब इमिरेट्सबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ। द्विपक्षीय व्यापार विस्तार एवं संयुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड छ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो।
दुवै मुलुकबीचको द्विपक्षीय व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०÷०२१ मा ३६ अर्बभन्दा बढीको व्यापार घाटा रह्यो। सन् २०१९÷२० मा करिब १८ अर्ब र २०१८÷०१९ मा ३५ अर्बको व्यापारघाटा थियो। नेपालले तयारी पोसाक, हातेगलैंचा तथा हस्तकलाका सामान, मुसुरोका दाललगायतका सामग्री निर्यात गर्दै आएको छ। सुन तथा चाँदी, खनिज तेल र यससँग सम्बन्धित अन्य उत्पादन, प्लास्टिक तथा प्लास्टिकजन्य सामान, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तु आयात गर्छ।
उद्योग विभागका अनुसार नेपालमा कृषि तथा वनमा आधारित, ऊर्जा, आईटी, उत्पादनमूलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजना सञ्चालनमा छन्। व्यापारघाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्र पहिचान गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ। नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक संयुक्त अरब इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइएको हो। हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएईबीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भयो। यसका लागि दुवै देशका सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्रबीचको समन्वय र सहकार्यलाई अझ घनीभूत ढंगबाट लैजानुपर्नेमा भेटवार्तामा जोड दिइयो।
महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भाव्यतालाई सफल पार्न आर्थिक कूटनीतिको सहयोगको अपेक्षा गरे। यूएईसँग आर्थिक सम्बन्ध मजबुद बनाउने कार्यमा नेपाली निजी क्षेत्र लालायित रहेकाले सहयोग गर्न राजदूतलाई आग्रह गरे। राजदूत सइद हमदान अल नाकवीले आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास व्यक्त गरे।


