काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले शहरको हरियाली विस्तार अभियानअन्तर्गत विभिन्न स्थानमा ४४९ वटा विरुवा रोपेको छ। महानगरको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले वडा नं. १७ र १९ का नदी किनार, पशुपति क्षेत्र, कालीमाटी लगायत स्थानमा समी, कपुर, धुपी, फलफूल तथा फूलका विरुवा रोपेको हो।
लखतीर्थमा आयोजित वृक्षारोपण कार्यक्रममा महानगरका वातावरण समिति संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समिति संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समिति संयोजक ईश्वरमान डंगोलसहित स्थानीय समुदाय र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
कंकेश्वरी क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रममा वडाका जनप्रतिनिधि, सामाजिक तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वातावरण समिति संयोजक तथा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले रोपिएका विरुवा संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए। उनले महानगरले रोपणदेखि मलजल र हेरचाहको काम गरे पनि विरुवा जोगाउन स्थानीयको साथ आवश्यक रहेको उल्लेख गरे।
उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख धनबहादुर बस्नेतले शहरी स्वच्छता र वातावरण संरक्षणका लागि हरियाली विस्तार अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न निकायसँग समन्वय भइरहेको जानकारी दिए।
आयोजनाका अनुसार लखतीर्थ, कालीमाटी, विष्णुमती करिडोर, पशुपति क्षेत्र र कंकेश्वरीमा कपुर, समी, धुपी तथा फलफूलका विभिन्न प्रजातिका विरुवा रोपिएका छन्। महानगरका अनुसार यस वर्ष काठमाडौंभित्र करिब ५ हजार विरुवा तथा फलफूलका बोट रोप्ने लक्ष्यअनुसार अभियान अघि बढाइएको छ।


