कर्णाली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संयुक्त सरकार गठन विशिष्ट परिस्थितिमा भएको स्पष्ट गर्नुभएको छ।
मंगलबार प्रेस युनियन सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो वातावरण उत्पन्न भएकाले दुई शक्तिबीच सहकार्यमा सरकार बनेको बताउनुभयो।
उहाँले आसन्न उपनिर्वाचनमा कतै समीकरण भए पनि आगामी निर्वाचनमा गठबन्धनका वर्तमान दलहरूले आ-आफ्नो ढंगले प्रतिस्पर्धा गर्ने कुरा प्रष्ट्याउनुभयो।
कांग्रेसको सय दिनको अभियान र उपनिर्वाचन प्रचारका क्रममा कर्णाली आइपुग्नुभएका पूर्वअर्थमन्त्री महतले आफ्नो कार्यकालमा कर्णाली राजमार्ग र अपर कर्णाली क्षेत्रका लागि ठूलो बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो। तर, बजेट विनियोजन गरेपछि सरकारबाट बाहिरिनुपरेकाले कार्यान्वयनमा ढिलाइ भएको उहाँले थप्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमात्र नभई पार्टी उपसभापति धनराज गुरुङविरुद्ध पनि आवश्यक छानबिन र अनुसन्धान भइरहेको जानकारी दिँदै प्रवक्ता महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको हितमा केन्द्रित हुने बताउनुभयो।
बागलुङ हुँदै रुकुम, जाजरकोट, र दैलेखजस्ता जिल्लाहरूमा यात्रा गर्ने क्रममा उपनिर्वाचनमा देखिएको व्यापक उत्साहले आफूलाई ऊर्जा मिलेको उहाँले व्यक्त गर्नुभयो।


