Monday, June 8, 2026
Homeराजनीतिविवाह पञ्चमीको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व छ : राष्ट्रपति

विवाह पञ्चमीको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको बताएकी छन्। विवाह पञ्चमीको अवसरमा शुभकामना दिँदै उनले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको बताएकी हुन्।

शुभकामना सन्देशमा भनिएको छ,  ‘त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

राष्ट्रपति भण्डारीले विवाह पञ्चमीले मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्दै भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव‚सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्‍वास लिएकी छन्। उनले नेपालीहरूमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउँदै समतामूलक‚सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।

प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ। यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।

त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका