काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि पुनः सहमति जुट्न सकेको छैन। सरकारले बढुवा सम्बन्धी नयाँ प्रावधान ल्याएको भन्दै विधेयक रोकिएको हो।
समितिका सभापति अम्मरबहादुर थापाले सरकारले विधेयकमा बारम्बार नयाँ एजेन्डा थपेर प्रक्रिया अवरुद्ध बनाएको आरोप लगाउँदै शिक्षा मन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति जुटाएर प्रस्ताव ल्याउन अल्टिमेटम दिएका छन्।
“पाँच दिनभित्र सहमति गरेर ल्याउनुभयो भने धन्यवाद दिन्छु। तर सहमति पनि अहिले उठेका विषयमै हुनुपर्छ, नयाँ कुरा लिएर आउनु भएन,” थापाले चेतावनी दिँदै भने, “छैटौं दिनमा फेरि बैठक बस्छौं।”
शिक्षा मन्त्री पन्तले भने अहिल्यै समय तोक्न नहुने सुझाव दिएका थिए। “त्यसअघि नै पनि बैठक बस्न सक्छ,” मन्त्री पन्तले जवाफ दिए।
तर सभापति थापाले अब समिति र सांसदहरूलाई “खेलाउनजस्तो” गरेर बैठक सञ्चालन हुन नसक्ने स्पष्ट पारे। “घरी बैठक बोलाउने, घरी स्थगित गर्ने कुरा अब मान्य हुँदैन,” उनले भने, “पाँच दिनभित्र सहमति ल्याउनुहोस्, होइन भने विधेयक फिर्ता लैजानुस्।”
थापाले समितिलाई अनिर्णयको जालमा पार्नुको साटो विधेयक फिर्ता लिएर जाने विकल्प सुझाएका छन्। “हरेक व्यक्तिको फरक राय सुनेर कानुन बनाउन सकिँदैन,” उनले भने, “पहिले ६०-४० को विषय अड्किएको थियो, अहिले बढुवाको प्रावधानले विधेयक रोकेको छ।”
थापाले बढुवा सिनियरिटी र कार्यसम्पादनको आधारमा हुनुपर्ने स्पष्ट गर्दै शिक्षा मन्त्रीलाई सम्बोधन गरेका थिए।


