कहिलेकाहीँ त एक जनामात्र शिक्षक विद्यालयमा आउने र ऊ पनि हाजिर गरेर फर्कने गरेकोसमेत अनुभव रहेको उनले सुनाए । ‘विद्यार्थी दिनभर विद्यालयमै हुन्थे,’ उनले भने, ‘तर उनीहरुलाई पढाउने एक जना शिक्षक पनि हुँदैनथे, हाजिर गर्दै हिँड्ने गर्दथे । यस्तो अवस्थामा हामीले कसरी त्यस्तो विद्यालयमा आफ्ना छोराछोरीलाई पढ्न पठाउने ?’
शिक्षकले लापरवाहीकै कारण विद्यार्थीहरु विस्तारै सो विद्यालय छाडेर अन्यत्र बढ्न जान थालेको उनले सुनाए । यसरी एकजना–दुईजना गरी विद्यार्थीहरुले विद्यालय छाड्दै गएपछि तीन वर्ष यता सो विद्यालय विद्यार्थीविहीन भएको उनले बताए ।
अर्का अभिभावक जुक्ति यादव भन्छन्, ‘मास्टरहरु आज सुध्रिनु होला, भोलि सुध्रिनु होला भनेर हामीले प्रतिक्षा ग¥यौं तर दिनदिनै अवस्था झन् बिग्रिँदै गएपछि बाध्य भएर विद्यार्थीलाई अर्को स्कूलमा पठाएका हौँ ।’
सबै अभिभावकको आर्थिक अवस्था आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउन सक्ने खालको हुँदैन । उनीहरु जसोतसो नजिककै सरकारी स्कूलमा आफ्ना छोराछोरीलाई पढाउन चाहन्छन् । तर शिक्षकले नै पढाउन छाडेपछि सो विद्यालयमा कोही पनि पढ्न जान नमानेको जुक्ति यादवको भनाइ छ ।
‘पाँच कक्षासम्म पढाई हुन्छ तर पाँच जना विद्यार्थीलाई पनि विद्यालयमा टिकाउन नसक्ने हो भने कस्तो शिक्षक होलान्, आफै स्पष्ट हुन्छ,’ उनले भने, ‘ल ठिक छ, कतिपयले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउन चाहे होलान् तर त्यही विद्यालयबाट बाहिरिएका कयौं त्यस्ता विद्यार्थी पनि छन्, जो सरकारी विद्यालयमै भर्ना भएका छन् । उनीहरुलाई त रोक्न सकिन्थ्यो नि !’
राजमार्गसँग जोडिएको यो स्कूलमा भौतिक स्रोत साधनको अभाव छैन । शिक्षकहरुको व्यवहार र कार्यशैलीकै कारण यो विद्यालय दुरावस्थामा पुगेको अभिभावकहरुको भनाइ छ ।
उक्त विद्यालयका प्रधानाध्यामक श्यामकुमार विद्यालयमा विद्यार्थी नआउनुमा आफूहरुको कुनै भूमिका नरहने बताउँछन् । विद्यालयमा तीन वर्षदेखि एक जना पनि विद्यार्थी नरहेको अवस्थाबारे रातोपाटीले प्रतिक्रिया लिन खोज्दा उनले भने, ‘विद्यार्थी खोजेर ल्याइदिनुस् न त ।’
‘विद्यार्थी बिना नै तपाईहरु बसीबसी तलब खाइरहने त ?’ रातोपाटीले उनलाई प्रश्न गरेको थियो । जवाफमा उनले भने, ‘तपाईहरु विद्यार्थी खोजेर ल्याइदिनुस्, अनि हामी उठीउठी तलब खाउँला ।’ त्यहाँ कार्यरत शिक्षक चन्देश्वर यादवले राजनीतिक वातावरणका कारण विद्यार्थीहरु स्कूल आउन छाडेको बताए । त्यहाँका स्थानीय समेत रहेका शिक्षक चन्देश्वर यादवले गाउँको राजनीतिक वातावरण राम्रो नभएको र एकअर्काको खुट्टा तान्ने प्रवृत्ति रहेका कारण पनि विद्यालयको अवस्थाप्रति कसैलाई चासो नभएको उनको भनाइ छ ।
विद्यार्थी नै नभए पनि सो विद्यालयमा विभिन्न शीर्षकमा बजेट आउने गरेको छ । नगरपालिकाबाट दिवा खाजा, विभिन्न छात्रवृत्ति, पाठ्यपुस्तक लगायतका नाममा रकम जाने गरेको छ । तर सो रकम कहाँ सकिन्छ भन्ने कसैलाई पत्तो छैन ।
शिक्षक चन्देश्वर यादव भने आफूलाई बजेटको बारेमा जानकारी नभएको बताउँछन् । ‘बजेट आउँछ कि आउँदैन भन्ने हामीलाई थाहा हुँदैन, यस्ता कुरा हेडमास्टरलाई मात्र थाहा हुन्छ,’ उनले भने ।
सिरहा नगरपालिकाका शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले सो स्कूलमा तलबबाहेक अरु कुनै बजेट नगएको बताए । उनले भने, त्यहाँ विद्यार्थी नै छैनन् भने तलबबाहेक अन्य बजेट दिने कुरै हुँदैन ।’ उनले पनि शिक्षकहरुको बदमासीका कारण त्यहाँबाट विद्यार्थी पलायन भएको बताए ।
उनका अनुसार विद्यार्थी नै नभएका कारण त्यहाँका शिक्षकलाई गत साउनमै अन्यत्र सरुवा गरिएको थियो । स्कुलमै सरुवापत्र पठाइएको तर शिक्षकहरुले सो पत्र बुझ्न नमानेपछि नगरपालिकामै फिर्ता आएको शाखा प्रमुख यादवले बताए । पछि हेडमास्टर श्याम यादव मार्फतबाट पनि सरुवा पत्र पठाएको तर शिक्षकहरुले पत्र बुझ्न नमानेपछि हुलाकमार्फत पठाइएको जानकारी दिए । अब पनि सरुवा पत्र बुझ्न नमाने कारवाहीका लागि कानुनी प्रक्रियामा जाने उनको भनाइ छ ।
प्राविका शिक्षकले सरदर ३० हजार दुईसय रुपैयाँ मासिक तलब खान्छन् । यस हिसाबमा पाँच जना शिक्षकको मासिक तलब सरदर एकलाख ५१ हजार रुपैयाँ हुन्छ । तीन वर्षमा ती पाँच जना शिक्षकका लागि ५४ लाख ३६ हजार रुपैयाँ खर्च भइसकेको छ ।