काठमाडौँ: विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले कङ्साकारसहित अन्यलाई दोषी ठहर गरेको हो।
अदालतले तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद सजाय सुनाएको छ। उनलाई बिगोबमोजिम रु १ अर्ब ४७ करोड १० लाखको दामासाहीसहित रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना तिर्नुपर्ने फैसला गरेको छ। ज्येष्ठ नागरिक ऐनअनुसार कङ्साकारले ५० प्रतिशत सजाय छुट पाउनेछन्।
निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजाय सुनाइएको छ। अधिकारीलाई पनि दामासाहीसहित सोही रकम जरिवाना र बिगो जफत हुने फैसला गरिएको छ।
तत्कालीन निगम सञ्चालक समिति सदस्य एवं पूर्वसचिव शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद र बिगोबमोजिम रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ।
पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजाय र सोही बिगोबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला गरिएको छ।
जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि अदालतले दोषी ठहर गरेको छ। उनीहरूलाई एक वर्ष छ महिना कैद र बिगोअनुसार रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गर्ने फैसला सुनाइएको छ।
यसै प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाइ दिएको छ। साथै, दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन्।
उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दायर गरेको थियो।


