रौतहट। रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ। गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक शनिबार राति करिब १०:३० बजे सो सुटकेश भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो। मृतकको पहिचान हुन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शवमा साडी छिरिएको देखिएकाले हत्या गरेर सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थल नजिकैको विद्यालयको सिसिटिभी फुटेजसमेत प्रहरीले परीक्षण गरिरहेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।
यसअघि पनि रौतहटमा छुरा प्रहारबाट सहाबुदिन मिया मारिनुका साथै सप्तरीका उपेन्द्र भगतको शव होटलमा फेला परेको थियो। यस साता मात्रै रौतहटमा तीन जनाको शव भेटिँदा जिल्ला आतंकित बनेको छ।




