Friday, July 3, 2026
Homeराजनीतिरास्वपाले संसदबाटै गृहमन्त्रीको राजीनामा माग्ने

रास्वपाले संसदबाटै गृहमन्त्रीको राजीनामा माग्ने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेकाले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने ठहर गर्दै मंगलबार बस्ने संसद बैठकमै सशक्त ढंगले राजीनामा माग गर्ने निर्णय गरेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदमा प्रतिपक्षको हैसियतले गृहमन्त्रीसँग प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने स्पष्ट योजना रहेको बताए। उनले प्रश्न सोध्न नपाई गृहमन्त्रीले एकलौटी जवाफ दिने अवस्था स्वीकार्य नहुने जनाए।

प्रवक्ता झाले गृहमन्त्री लेखकलाई कांग्रेसका केही पदाधिकारीले ‘क्लीन चिट’ दिन खोज्नु उपयुक्त नभएको समेत बताए। “उनी कांग्रेस नेता पनि हुन्, तर यो प्रकरणमा कांग्रेसले अनुसन्धानलाई सहज बनाउने भूमिका खेल्नुपर्छ,” उनले भने।

उनले विगतमा आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रेसले २२ पटकसम्म संसद अवरोध गरेको प्रसंग पनि सदनमा उठाउने तयारी भएको जानकारी दिए। अन्य दलभन्दा सुदृढ र जिम्मेवार संसदीय अभ्यास प्रस्तुत गर्ने रास्वपाको अठोट रहेको उनले दोहोर्‍याए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका