काठमाडौं । रूसले युक्रेन माथि आक्रमण सुरु गरेको चौथो वर्षगाँठका अवसरमा मंगलबार संयुक्त राष्ट्रसंघको महासभा ले युक्रेनको समर्थनमा प्रस्ताव पारित गरेको छ। तर यस मतदानमा संयुक्त राज्य अमेरिका तटस्थ बसेको छ।
महासभाले पारित गरेको प्रस्तावमा युक्रेनको सार्वभौमिकता, स्वतन्त्रता, एकता तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सीमाभित्रको भौगोलिक अखण्डताप्रति प्रतिबद्धता दोहोर्याइएको छ। प्रस्ताव १०७ देशको समर्थनमा, १२ देशको विरोधमा र ५१ देशको तटस्थतामा पारित भएको हो।
प्रस्तावमा तत्काल र बिना शर्त युद्धविरामसहित समग्र, न्यायपूर्ण र दीर्घकालीन शान्ति स्थापना गर्न आग्रह गरिएको छ। मतदानअघि अमेरिकाले युक्रेनको भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी विषय छुट्टै मतदानमा राख्न प्रस्ताव गरे पनि उक्त प्रस्ताव अस्वीकार गरिएको थियो।
जो बाइडेन बाट डोनाल्ड ट्रम्प मा सत्ता हस्तान्तरणपछि अमेरिकाको युक्रेनप्रतिको अडान कमजोर भएको विश्लेषण गरिएको छ। ट्रम्प प्रशासनले भ्लादिमिर पुटिन सँग कूटनीतिक सक्रियता बढाएको छ भने २०२२ को रूसी आक्रमणप्रति पहिलाजस्तो कडा अभिव्यक्ति नदिएको उल्लेख गरिएको छ।


