Sunday, June 21, 2026
Homeअर्थ र ब्यापारम्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दी (बेनी): म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान प्रेम पाइजाले यस वर्ष रु ७ लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन्। उनका तीन सय ५० बोट सुन्तलाबाट गत वर्षको तुलनामा आम्दानी तीन गुणा बढी भएको छ। गत वर्ष उनले रु २ लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादनमा भएको बृद्धिले आम्दानीमा यो वृद्धि सम्भव भएको उनले बताए।

दोसल्ले क्षेत्रमा करिब १३ वर्षअघिदेखि सुन्तलाखेती सुरु भएको थियो। परम्परागत अन्नबाली छाडेर किसानहरूले सुन्तलाखेतीमा आकर्षण देखाएपछि यहाँको कृषि प्रथामा व्यापक परिवर्तन आएको छ। खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन किसानहरूले “दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह” गठन गरेका छन्, जसको नेतृत्व प्रेम पाइजाले गरिरहेका छन्।

पाइजाका अनुसार, यस वर्ष दोसल्लेबाट मात्रै रु १ करोड ५० लाखभन्दा बढीको सुन्तला व्यवसायीले खरिद गरेका छन्। “सुन्तलाको उत्पादन उत्कृष्ट छ, र किसानले अधिकांश सुन्तला बोटमै व्यवसायीलाई बेचिसकेका छन्। पेस्की रकमसमेत उपलब्ध गराइएको छ,” उनले भने।

दोसल्ले गाउँमा हाल १० हजार बोट सुन्तला छन्, जसले यस वर्ष उत्पादनमा राम्रो योगदान दिएका छन्। यो प्रवृत्ति जिल्लाभरि नै देखिएको छ। अनुकूल मौसम, राम्रो व्यवस्थापन, र नियमित गोडमेलका कारण उत्पादनमा वृद्धि भएको कृषि प्राविधिकहरूको भनाइ छ।

बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले भने, “गाउँबाट गत वर्ष रु १ करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष यो रकम रु १ करोड ६० लाख पुग्ने अनुमान छ। उत्पादन राम्रो छ, र बजारको कुनै समस्या छैन।”

राखुका ६२ घरधुरीमध्ये सबैले सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अंगालेका छन्। अगुवा किसान रामबहादुर घर्तीले रु ७ लाख ५० हजारको सुन्तला ठेक्कामा बिक्री गरेका छन् भने जीतबहादुर आलेले रु ७ लाखमा सुन्तला बेचेका छन्।

जिल्लाका प्रमुख सुन्तला उत्पादक क्षेत्रहरूमा राखु, मरेक, बास्कुना, सुर्केमेला, अर्मन, ताकम, भुरुङ तातोपानी, र नारच्याङ उल्लेखनीय छन्। बास्कुना गाउँले मात्रै यस वर्ष रु १ करोडको सुन्तला बिक्री गरेको छ। त्यहाँका १६ घरधुरीले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाका अनुसार, जिल्लामा यस वर्ष ८१० हेक्टर जमिनमा सुन्तलाखेती भइरहेको छ, जसमध्ये ४२० हेक्टरमा मात्रै उत्पादन हुन्छ। गत वर्ष जिल्लाबाट ३६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष उत्पादनमा डेढ गुणाले वृद्धि हुने अनुमान गरिएको छ। उत्पादनको विवरण अध्ययन गर्न “क्रप कटिङ” विधि प्रयोग भइरहेको छ।

म्याग्दीका सुन्तलाहरू काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलजस्ता ठूला बजारमा सजिलै निकासी भइरहेको छ। सुन्तलाको मूल्य र माग बढ्दै जाँदा किसानहरूले आम्दानीमा उत्साहजनक वृद्धि अनुभव गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका