विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्री कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन्। त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।
गत साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभा बैठकमा उपस्थित ६२ सदस्यमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने ५ जना तटस्थ बसेका थिए।
त्यतिबेला एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३ र जनता समाजवादी पार्टी नेपालका १ प्रदेशसभा सदस्यले कार्कीलाई विश्वासको मत दिएका थिए।
एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ प्रदेशसभा सदस्य सहभागी भएका थिए।
९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र कांग्रेसका २९ सदस्य छन्। यस्तै, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जनता समाजवादी पार्टीका १ सदस्य छन्।


