काठमाडौं। नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएसँगै सरकार र विभिन्न निकायले उद्धार तथा पुनर्स्थापना अभियानलाई तीव्र पारेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपाल प्रहरीले १२७ जना पीडितलाई स्वदेश र विदेशका विभिन्न स्थानबाट उद्धार गरेको छ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ का अनुसार, १० जिल्लामा सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रमार्फत ७५८ जना र विभिन्न संघसंस्थामार्फत दुई हजार ७३२ जना गरी जम्मा तीन हजार ४९० जनाको उद्धार र पुनर्स्थापना गरिएको छ।
नेपाल–भारत सीमा नाकालगायत स्थानमा सक्रिय संघसंस्थाका सूचना केन्द्रहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मीको सहकार्यमा चार हजार ३०० जनालाई जोखिमयुक्त अवस्थामा प्रारम्भिक पहिचान गरी उद्धार तथा फिर्ती गरेका छन्। तीमध्ये ६४.३ प्रतिशत महिला, ३३.४ प्रतिशत बालिका, ०.४ प्रतिशत पुरुष र १.९ प्रतिशत बालक रहेका मन्त्रालयले जनाएको छ।
यस्तै, ती सूचना केन्द्रहरूले गत आर्थिक वर्षमा मात्रै ७७ हजार ५०० जनालाई मानव बेचबिखन तथा तस्करीविरुद्ध परामर्श सेवा उपलब्ध गराएका छन्।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार, सो अवधिमा १७ जना बालिका बेचबिखनमा र ४६ जना बालिका अपरहणमा परेका थिए। साथै, देशभर हराएका छ हजार ५९० बालबालिकामध्ये (७२ प्रतिशत बालिका र २८ प्रतिशत बालक) मध्ये ५८३१ जना फेला पारी परिवारसँग पुनर्मिलन गराइएको छ।
उनका अनुसार मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति र कार्ययोजना मस्यौदा गरिएको छ र यसलाई संघ, प्रदेश, स्थानीय तह, नागरिक समाज र पीडितहरूको सुझावसहित परिमार्जन गरी अन्तिम रूप दिने तयारी भइरहेको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहमा करिब २४ हजार साझेदारी समिति गठन गरी महिला हिंसा, साइबर अपराध, जबर्जस्ती करणी, बालविवाह, बहुविवाह, दाइजो प्रथा, आत्महत्या, मानव बेचबिखनलगायतका घटनाविरुद्ध जनस्तरमा सचेतना बढाइएको मन्त्रालयले जनाएको छ।
यस्तै, विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनीकरण, समुदाय–प्रहरी खेलकुद, आगलागी न्यूनीकरणलगायत गतिविधि पनि सञ्चालनमा रहेका मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।


