काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित राउज एभिन्यू अदालतले मदिरा नीति घोटालासँग सम्बन्धित सीबीआई मुद्दामा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई सफाइ दिएको छ।
शुक्रबार विशेष न्यायाधीश जितेन्द्र सिंहले दुवै विरुद्ध लगाइएका आरोपहरू प्रमाणित हुन नसक्ने ठहर गर्दै आरोपपत्र दर्ता गर्न अस्वीकार गरेका हुन्। सीबीआईले यस मुद्दामा कुल २३ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो। अदालतले सबै अभियुक्तलाई सफाइ दिएको जनाएको छ।
सफाइपछि अदालत परिसर बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केजरीवाल भावुक देखिएका थिए। उनले भारतीय न्याय प्रणालीप्रति विश्वास व्यक्त गर्दै अदालतको निर्णयलाई “सत्यको विजय” बताएका छन्। उनले आफूहरूविरुद्ध राजनीतिक षड्यन्त्र रचिएको आरोप पनि लगाए।
सिसोदियाले पनि अदालतको निर्णयप्रति सन्तोष व्यक्त गर्दै संविधान र यसका निर्माता भीमराव रामजी अम्बेडकरप्रति गर्व व्यक्त गरेका छन्। उनले सत्य अन्ततः विजयी भएको बताएका छन्।
यता, केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले भने अदालतको निर्णयप्रति असहमति जनाउँदै अनुसन्धानका विभिन्न पक्षहरू पर्याप्त रूपमा विचार नगरिएको दाबी गरेको छ। सीबीआईले ट्रायल कोर्टको निर्णयविरुद्ध दिल्ली उच्च अदालतमा अपील गर्ने जनाएको छ।
उक्त मुद्दा मदिराको उत्पादन शुल्क नीति सम्बन्धी विवादसँग जोडिएको हो, जसले भारतीय राजनीतिक वृत्तमा ठूलो बहस निम्त्याएको थियो।


