कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५, प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ।
काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत बास्तोला भदौ ९ गते दुई जना साथीसहित नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
छोरीको खोजीमा उनका बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा र नुवाकोट पुगेका थिए। बाढीले पुर्याएको क्षति र खोजीको अवस्थापछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले लामो समयसम्म उनको खोजी जारी राखेको थियो।
घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो। पोखराको तुलसीघाटमा सृष्टिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए।
गौतमका अनुसार बाढी आउनुअघि भदौ ९ गते साँझ मात्र सृष्टि नुवाकोट पुगेकी थिइन्। भोलिपल्ट बिहान परिवारसँग कुराकानी भए पनि त्यसपछि उनको कुनै जानकारी प्राप्त भएको थिएन।
सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरी देश निर्माणमा योगदान दिने लक्ष्यसहित इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेका छन्। पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको बताए।
यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४, समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ।
टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि सम्पर्कविहीन थिए। लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात छ। बेपत्ता आफन्तको खोजीका लागि परिवारहरू सम्भावित स्थानमा पुगे पनि कुनै जानकारी प्राप्त हुन नसकेपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।
बेपत्ता फर्कने आशा मरेपछि काजकिरिया
भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्तीको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।
बाढीपछि सम्भावित सबै स्थानमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरेको भतिज विशाल घर्तीले बताए।
बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन भएका थिए। परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उनीहरूको शव फेला पर्न सकेको छैन।
यस्तै, भोटेकोशी बाढीमा बेपत्ता मर्स्याङ्दी गाउँपालिका–३, खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन। उनको पनि परम्पराअनुसार काजकिरिया सम्पन्न भइसकेको छ। भण्डारी माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सबइन्जिनियरका रूपमा कार्यरत थिइन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डीएनए परीक्षण गर्न पठाइएको उनले जानकारी दिए।
रासस


