Friday, July 3, 2026
Homeराजनीतिभिजिट भिसा प्रकरण: गृहमन्त्रीको राजीनामा नआएसम्म विपक्षीले संसद चलन नदिने

भिजिट भिसा प्रकरण: गृहमन्त्रीको राजीनामा नआएसम्म विपक्षीले संसद चलन नदिने

काठमाडौं: भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु भएदेखि माओवादीसहितका प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरे। उनीहरूले छानबिन समिति गठन गरी गृहमन्त्रीमाथि अनुसन्धान गर्न पनि माग गरे।

प्रतिपक्षीको विरोधपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद बर्षमान पुनलाई बोल्न समय दिए। पुनले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडिएको भन्दै बिमानस्थलभित्र भएको भ्रष्टाचार राजनीतिक संरक्षणबिना सम्भव नभएको उल्लेख गरे।

उनले भनी, सो प्रकरणमा गृहमन्त्री प्रत्यक्ष जोडिएका कारण राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने सुझाव दिए। पुनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानको उचित वातावरण नबनेसम्म सदन सञ्चालन नहुने स्पष्ट पारे।

त्यस्तै, रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गरी गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने बताए। उनले गृहमन्त्री लेखक पदमा रहँदा निष्पक्ष छानबिन सम्भव नहुने भन्दै राजीनामा दिनुपर्ने दोहो¥याए।

निष्पक्ष छानबिनका लागि समिति गठन नभएसम्म सदन चल्न नदिने उनको चेतावनी थियो। गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले सदनमा विरोध जनाएपछि सभामुख घिमिरेले आसनग्रहण गरी सहज रुपमा सदन सञ्चालन हुने वातावरण बनाउन आग्रह गरे।

प्रतिपक्षीको विरोधकैबीच कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्न समय मागेका थिए। सभामुखले बोल्न समय दिएपछि बिपक्षी दलहरू नाराबाजीमा उत्रिए। निरन्तरको विरोधका कारण प्रतिनिधि सभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका