Wednesday, June 10, 2026
Homeअन्तराष्ट्रियभारतले पहिलो पटक १२ आणविक हतियार तैनाथ गर्‍यो, विश्व नयाँ आणविक प्रतिस्पर्धातर्फ...

भारतले पहिलो पटक १२ आणविक हतियार तैनाथ गर्‍यो, विश्व नयाँ आणविक प्रतिस्पर्धातर्फ : सिपरी

काठमाडौं । स्वीडेनस्थित अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (सिपरी) को हालै सार्वजनिक प्रतिवेदनले भारतले पहिलो पटक आफ्ना १२ वटा आणविक हतियार सक्रिय रूपमा तैनाथ गरेको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार भारतसँग हाल कुल १९० वटा आणविक हतियार छन्, जसमध्ये १७८ वटा भण्डारणमा रहेका छन् भने १२ वटा पूर्ण तयारी अवस्थामा तैनाथ गरिएका छन्। गत वर्ष भारतसँग १८० वटा आणविक हतियार रहेको र ती सबै भण्डारणमै रहेको जनाइएको थियो।

प्रतिवेदनमा उल्लेख भएअनुसार भारतले तैनाथ गरेका आणविक हतियार सम्भवतः आणविक शक्तिसम्पन्न पनडुब्बीहरूमा राखिएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, भारतको रक्षा मन्त्रालयले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

रक्षा विश्लेषक राहुल बेदीका अनुसार शान्तिकालमै आणविक हतियार तैनाथ गरिनु महत्त्वपूर्ण रणनीतिक परिवर्तन हो। उनका अनुसार भारतको ‘नो फर्स्ट युज’ (पहिले आणविक आक्रमण नगर्ने) नीति यथावत् रहे पनि पनडुब्बीमार्फत आणविक प्रतिरोध क्षमता बलियो बनाउने दिशामा भारत अघि बढेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार समुद्रमा गस्ती गर्ने आणविक पनडुब्बीहरू आणविक प्रतिरोधको सबैभन्दा सुरक्षित माध्यम मानिन्छन्। यस्ता पनडुब्बीहरू लामो समयसम्म पानीमुनि रहन सक्ने भएकाले तिनको पहिचान गर्न र निशाना बनाउन कठिन हुन्छ।

सिपरीको प्रतिवेदनले भारतले आणविक हतियारको संख्या मात्र नभई त्यसका लागि आवश्यक सामग्री उत्पादन र हतियार आधुनिकीकरण कार्यक्रमलाई पनि तीव्रता दिएको जनाएको छ। भारतको ध्यान विशेषगरी चीनको सम्पूर्ण भूभागसम्म पुग्न सक्ने लामो दूरीका मिसाइल र प्रहार प्रणाली विकासमा केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार पाकिस्तानसँग हाल १७० वटा आणविक हतियार छन्, तर उसले हालसम्म कुनै आणविक हतियार सक्रिय रूपमा तैनाथ गरेको छैन। चीन, अमेरिका, रुस, फ्रान्स, बेलायत तथा अन्य आणविक शक्ति सम्पन्न राष्ट्रहरूले पनि आफ्ना हतियार प्रणालीको आधुनिकीकरणलाई निरन्तरता दिएका छन्।

सिपरीका अनुसार सन् २०२६ को सुरुवातसम्म विश्वका नौ आणविक शक्ति सम्पन्न राष्ट्रहरूसँग संयुक्त रूपमा करिब १२,१८७ वटा आणविक हतियार रहेका छन्। तीमध्ये करिब ४,०१२ वटा हतियार सैन्य बलसँग तैनाथ अवस्थामा छन् भने २,१०० भन्दा बढी वारहेड उच्च सतर्कतामा मिसाइल प्रणालीसँग जोडिएका छन्।

प्रतिवेदनले विश्व नयाँ आणविक प्रतिस्पर्धाको चरणमा प्रवेश गरिरहेको चेतावनी दिएको छ। पुराना हतियार नष्ट गर्ने गति सुस्त बन्दै जाँदा नयाँ हतियार निर्माण र आधुनिकीकरणको प्रक्रिया तीव्र भएको सिपरीको निष्कर्ष छ।

यसैबीच, प्रतिवेदनले भारत विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता राष्ट्र बनेको पनि उल्लेख गरेको छ। सन् २०२१ देखि २०२५ सम्म भारतले विश्वको कुल हतियार आयातको ८.२ प्रतिशत हिस्सा ओगटेको छ। गत वर्ष भारतको रक्षा खर्च ९२.१ अर्ब अमेरिकी डलर पुगेको थियो, जसले उसलाई विश्वको पाँचौं ठूलो रक्षा खर्च गर्ने देशको स्थानमा पुर्‍याएको छ।

विश्लेषकहरूले बढ्दो आणविक आधुनिकीकरण र सैन्य प्रतिस्पर्धाले विश्व सुरक्षा वातावरणलाई थप जटिल बनाउने तथा हतियार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय प्रयासमाथि नयाँ चुनौती थप्ने बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका